काठमाण्डौ । राष्ट्रिय स्तरका माइक्रोफाइनान्स कम्पनीमध्ये लगानीका लागि आकर्षक मानिने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २८ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २७ करोड २४ लाख रुपैयाँमा सीमित थियो । 

यो माइक्रोफाइनान्सको संचालन मुनाफा समेत बढेको छ । अघिल्लो वर्ष ४० करोड ६५ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १६ लाखको उचाईमा पुगेको हो । 

कम्पनीको खूद ब्याज आम्दानीमा भने गिरावट आएको छ । ब्याज आम्दानीको तुलनामा खर्चको अनुपातमा भएको वृद्धिले खूद ब्याज आम्दानी घटाएको देखिएको छ । अघिल्लो वर्ष ६९ करोड १९ लाख रहेको खूद ब्याज आम्दानी घटेर ६४ करोड ४ लाखमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा फरवार्डले ३ अर्ब २० करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ८० करोड सापटी लिई ७ अर्ब ६७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ३८ करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ४५ करोड सापटी लिई ६ अर्ब १५ करोड कर्जा परिचालन गरेको थियो । 

कम्पनीले आफ्नो रिजर्बकोषलाई निकै मजबुत बनाएको छ । फलस्वरुप अघिल्लो वर्ष यही अवधिमा ४९ करोड ६१ लाखमा सीमित कोषको आकार बढी ७३ करोड ८५ लाखको उचाईमा पुगेको छ । 

फरवार्डमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ०.२९ प्रतिशत मात्र रहेको खराब कर्जा बढेर यो वर्ष ०.३९ प्रतिशत पुगेको हो । 

कस्ट अफ फण्ड बढेर ९.९९ प्रतिशत  पुगेको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर  आम्दानी ९३.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३४६.०३ रुपैयाँ र तरलता अनुपात १९.२२ प्रतिशत कायम भएको छ ।