काठमाण्डौ । ‘ग’ वर्गको बित्तीय संस्था(फाइनान्स)लाई बेवास्ता गर्ने तपाईको बानी छ भने त्यो आजैका मितिदेखि त्यागिदिनुहोला । फाइनान्सले पनि ठूला बैंकले जत्तिकै राम्रो प्रगति गर्न सक्छन् र नाफामा समेत राम्रै छलांग मार्न सक्छन् भन्ने उदाहरण रिलायन्स फाइनान्सले पेश गरेको छ । 

यो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १० करोड ९८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो फाइनान्सको नाफा ८ करोड ६५ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्ष १० करोड १८ लाखमा सीमित रहेको खूद ब्याज आम्दानी बढाएर १३ करोड ३१ लखको उचाईमा पुर्याएको छ भने यो अवधिमा संचालन मुनाफातर्फ औसत प्रगति भएको देखिएको छ । यो फाइनान्सको अघिल्लो वर्ष ७ करोड २७ लाखमा सीमित रहेको संचालन मुनाफा बढेर यो वर्ष ८ करोड ४२ लाख पुुगेको छ । 

यो अवधिमा फाइनान्सले ३ अर्ब २३ करोड निक्षेप संकलन गरी २ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४२ करोड निक्षेप संकलन गरी २ अर्ब ११ करोड कर्जा परिचालन गरेको थियो । 

रिलायन्सले रिजर्ब कोषको आकारलाई व्यापक बनाएको छ । अघिल्लो वर्षसम्म ६ करोडमा सीमित कोषमा यो वर्ष १७ करोडको हाराहारीमा रकम जम्मा भएको छ । यो फाइनान्सको चुक्तापूँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ ।