काठमाण्डौ । वाणिज्य बैंकहरुले बचत र मुद्दति निक्षेपमा फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेका छन्। 

अधिकांश बैंकहरुले बचत र मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् भने केही घटाएका छन् र केहीले बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले सामान्य बचतको ब्याज २.५ प्रतिशत र अन्य ब्याज दर ४ प्रतिशत यथावत छ। मुद्दतितर्फ सर्वसाधारणलाई दिने ब्याज ७ प्रतिशतलाई यथावत राखेको छ। 

नेपाल बैंक लिमिटेडले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम दर ४ प्रतिशतलाई यथावत राखेको छ। बैंकले मुद्दतिमा अधिकतम ब्याज ७ प्रतिशत पनि यथावत नै राखेको छ। कृषि विकास बैंकले पनि बचतको ब्याजदर ३.५ देखि ५ प्रतिशतसम्म कायम गरेको छ। यसअघि अधिकतम ब्याज ७.२५ रहेको मुद्दतिको ब्याजदर ७ प्रतिशत कामय गरेको छ। 

सेञ्चुरी कमर्सियल बैंकले बचतको ब्याज बढाएको छ। ४.५ देखि २.५ प्रतिशतको ब्याजलाई २.७५ देखि ४.७५ प्रतिशत पुर्याएको छ। मुद्दतितर्फ ७.५ प्रतिशत ब्याजदरलाई भने बैंकले निरन्तरता दिएको छ।

बैंक अफ काठमाण्डू (बीओके) ले बचतको ब्याज २ प्रतिशतदेखि ३.५ प्रतिशत र मुद्दतिको अधिकतम ७ प्रतिशत कायम राखेको छ। 

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ३ प्रतिशतदेखि ५ प्रतिशतसम्मको बचत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतिमा बैंकले ब्याज दर ८ प्रतिशतलाई यथावत राखेको छ।

बचततर्फ लक्ष्मी बैंकले २ प्रतिशतदेखि ४ प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ भने मुद्दतिमा ७ प्रतिशतलाई यथावत राखेको छ। एनएमबि बैंकले बचतमा न्यूनतम ३.१ र अधिकतम ५.१ प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतितर्फ बैंकले ८ प्रतिशतसम्म ब्याज कायमै राखेको छ। 

सिद्धार्थ बैंकले पनि बचतको ब्याज २ देखि ४ प्रतिशत कामय गर्दै मुद्दतिको अधिकतम ७ प्रतिशत निर्धारण  गरेको छ। नेपाल बंगलादेश बैंकले यसअघिकै बचत र मुद्दतिको ब्याजदरलाई निरन्तरता दिँदै क्रमशः २.७५ प्रतिशतदेखि ४ प्रतिशत र ७.७५ प्रतिशतलाई कायम राखेको छ। 

सनराइज बैंकले बचतको ब्याज २ प्रतिशतदेखि ३.५ प्रतिशतलाई निरन्तरता दिँदै मुद्दतिमा अधिकतम ब्याज दर ७ प्रतिशतलाई यथावत राखेको छ। सिभिल बैंकले भने ३ प्रतिशतको बचतको ब्याजदरलाई २.५१ प्रतिशतमा स्थिर गरेको छ। मुद्दति निक्षेपमा ब्याज ८ प्रतिशतबाट घटाएर बढीमा ७.५१ प्रतिशत कायम गरेको छ। 

नेपाल एसबीआई बैंकले बचतको न्यूनतम ब्याजदरलाई १.५ प्रतिशतबाट बढाएर २ प्रतिशत पुर्याएको छ भने अधिकतम ब्याजदर ३ प्रतिशतलाई निरन्तरता दिएको छ। मुद्दति निक्षेपको ब्याजदर भने ७ प्रतिशत कायमै राखेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बचतको ब्याजको ब्याजदर न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म कायम राख्दै मुद्दतिका अधिकतम ब्याजदर ६ प्रतिशतलाई निरन्तरता दिएको छ।