काठमाण्डौ । बैंकका सीइओहरुबीच ब्याजदर बढाउने सहमति भएको छ । 

वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघको केहीबेरअघि सम्पन्न बैठकले यसअघिको भद्र सहमतिको सीमाभित्रै रहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित संस्थालाई नै हुने निर्णय गरेको हो । 

एनबीएको बैठकले यसअघि मुद्धति निक्षेपको ब्याजदर १०.५ प्रतिशतभन्दा बढी नबढाउने भद्र सहमति खारेज गर्दै दर खुल्ला गर्ने निर्णय गरेको हो । 

एनबीएको बैठकपछि वाणिज्य बैंकका सीइओहरुलाई पठाइएको एसएमएसमा भनिएको छ–‘नियामकीय व्यवस्थाअनुसार व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत तथा संस्थागत मुद्धतिको १०.०३ प्रतिशत कायम गर्नुपर्नेछ । बचतको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा ५ प्रतिशतले कम कायम गर्न सकिनेछ । कल निक्षेपको ब्याजदर ३.०१५ प्रतिशत कायम गरिएको छ ।’ 

एनबीएले नेपाल राष्ट्रबैंकको सर्कुलर समेत उल्लेख गरेर अघिल्लो महिनाको रेटभन्दा १० प्रतिशतले मात्र बढाएर नयाँ रेट सार्वजनिक गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार नयाँ दर तय गरिएको समेत प्रष्ट पारिएको छ । 

बैंकर्स संघको निर्णयपछि सीइओहरुलाई पठाइएको म्यासेज । 

....................................................................................

एनबीएले कुनै पनि बैंकलाई तोकिएकोभन्दा सीमाबाहिर गएर निक्षेपको ब्याजदर नतोक्न समेत आग्रह गरेको छ । 

केही वाणिज्य बैंकहरुले भने एनबीएको निर्देशनविपरीत भएको निक्षेप जोगाउन र थप स्रोतको जोहो गर्न ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याउने कसरत समेत गरिरहेका छन् । उनीहरुले राष्ट्रबैंकले समेत ग्रीन सिग्नल दिएको भन्दै मनलागी ब्याजदर बढाउने प्रयास गरिरहेका छन् । यसले ब्याजदर वृद्धिको दौड फेरि सुरु हुने प्रष्ट संकेत देखिएको छ । 

उता, विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि फागुनमा ब्याजदर बढाउने भएका छन्। जसअनुसार राष्ट्रियस्तरका विकास बैंकले व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकको ११.६५ हुने विकास बैंकका एक उच्च अधिकारीले जानकारी दिए। 

यसैगरी फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ११.७१ प्रतिशत पुरयाउने सहमति बनेको बताइएको छ। 

माघमा विकास बैंकहरुको व्यक्तिगततर्फको मुद्दति निक्षेपको ब्याजदर १०.३५ प्रतिशत र फाइनान्सहरुको १०.६५ प्रतिशत रहेको छ।