काठमाण्डौ । गुगल तथा फेसबुक जस्ता ठूला कम्पनी ह्याकिङ तथा साइबर सेक्युरिटीबाट बच्नका लागि वर्षेनी करोडौं रुपैयाँ खर्च गर्छन् । यी कम्पनीहरुले यस्ता–यस्ता प्रविधि विकास गरेका छन्, जसलाई ब्रेक गरेर ह्याक गर्न निकै कठीन छ । तर, एक व्यक्तिको अगाडि निकै एड्भान्स भनिएको यति ठूला कम्पनीको टेक्नोलोजी फिक्का साबित भयो । ती व्यक्तिको एकल प्रयासबाटै गुगल र फेसबुकजस्ता विश्वचर्चित कम्पनीका कयौं कर्मचारीहरुलाई फसाउने काम भयो र ती कर्मचारीहरुलाई करिब १ हजार २७ करोड रुपैयाँ चूना लगाउने काम भयो ।

सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविकता हो । मिडिया रिपोर्टहरुका अनुसार यी दुई कम्पनीमाथि १ सय मिलियन डलर बराबरको फिसिङ अट्याक भएको छ । फेक वेबसाइट तथा इमेलको माध्यमबाट हुने ठगी तथा धोकाधडीलाई फिसिङ अट्याक भनिन्छ ।

यो ठगीमा फेसबुक र गुगलका कर्मचारीलाई बेवकुफ बनाइएको छ र उनीहरुलाई विदेशी बैंक खातामा पैसा ट्रान्सफर गर्न बाध्य पारिएको छ ।

यसरी पत्ता लाग्यो ठगी
गत महिना अमेरिकाको जस्टिस डिपार्टमेन्टले एक व्यक्तिको गिरफ्तारीको घोषणा गरेको थियो । ती व्यक्तिमाथि फेसबुक र गुगलजस्ता ठूला कम्पनीलाई १ सय मिलियन डलर ठगी गरेको आरोप थियो । जस्टिस डिपार्टमेन्टले यो काण्डलाई निकै गोप्य राखेको थियो । साथै, यो धोकाधडी र ठगी कसरी गरियो भन्नेसम्मको तथ्य समेत पत्ता लागेको थिएन ।

फच्र्यूनको खुलासा
निकै चर्चित बिजिनेश म्यागजिन फच्र्यूनले यो काण्डको पर्दाफास गरेको हो । उसले यो प्रकरणमा निकै मिहिन ढंगले खोज गरेर पूरा विवरण बाहिर ल्याएको छ । केही भित्री सूत्रहरुले फच्र्युनलाई यो प्रकरणको तथ्यहरु दिएका रिपोर्टमा उल्लेख छ । रिपोर्टमा दुई ठूला कम्पनीमाथि धोकाधडी भएको मात्र भनिएको थियो, तर जब जाँच भयो, तब मात्र पत्ता लाग्यो कि त्यसरी ठगिने कम्पनी त फेसबुक र गुगल पो रहेछन् । रिपोर्टका अनुसार फेसबुक र गुगललाई बेवकुफ बनाई ठग्ने व्यक्ति लिथुआनियाई हुन् र उनको नाम इवालडास रिमासोसकास हो । तर अझै पनि यी दुई कम्पनीले यति ठूलो ठगीको बिषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।