काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी फिचले अमेरिकी अर्थव्यवस्थाको रेटिङ घटाएको छ। 

फिचले अमेरिकाको लङ टर्म फरेन करेन्सी इस्युअर डिफल्ट रेटिङ (आईडीआर) घटाएर ‘एए प्लस’ कायम गरेको हो। जुन पहिला ‘एएए’ थियो। 

फिचद्वारा जारी विज्ञप्तिमा अमेरिकाको क्रेडिट रेटिङ डाउनग्रेड गरिएको उल्लेख छ। राज्यकोषमा आउँदो ३ वर्षमा देखिने गिरावट र अमेरिकी सरकारको बढ्दो कर्जाका कारण रेटिङ डाउनग्रेड गरिएको विज्ञप्तिमा उल्लेख छ। 

पछिल्लो २० वर्षको अवधिमा अमेरिकाको गभर्नेन्सको स्ट्यान्डर्डमा पनि गिरावट आएको फिचले जनाएको छ। जसको असर राज्यकोष र कर्जाका निर्णयहरुमा देखिएको विज्ञप्तिमा उल्लेख छ।

फिचले रेटिङ डाउनग्रेड गरेकोमा अमेरिकी सरकारले असन्तुष्टि व्यक्त गरेको छ। अमेरिकी सरकारले अर्थव्यवस्थाका लागि लिएको लचिलो नीतिलाई फिचले बेवास्ता गरेको जनाएको छ। अमेरिकी अधिकारीहरुले अमेरिकाको अर्थव्यवस्थालाई डाउनग्रेड गर्ने फैसला फिचले आउटडेटेड डाटाका आधारमा गरेको आरोप लगाएका छन्। 

गत जुनमा अमेरिकी सरकारको कर्जाको सीमा बढेर ३१.४ ट्रिलियन डलर पुर्याइएको थियो। अमेरिकी सरकारले डिफल्ट हुनबाट कर्जाको सीमा बढाउने निर्णय गरेको थियो। यही निर्णय अमेरिकी अर्थव्यवस्थाको रेटिङ घटाउने मुख्य कारण रहेको बताइएको छ। –एजेन्सी