– अर्जुन तिमिल्सिना  

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका वित्त कम्पनीमध्ये गोर्खाज फाइनान्स पनि एउटा हो। करिब २७ वर्षपहिले स्थापित यो कम्पनीका २६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६ वटा एटीएम मेसिन सञ्चालनमा छन्। 

गोर्खाज फाइनान्सले आफ्ना ग्राहकलाई निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स, डिम्याट तथा लक्करलगायतका बैंकिङ सुविधा दिँदै आएको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ८६ करोड ८० लाख रुपैयाँ र रिटेन अर्निङमा २ करोड ४९ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको नाफा १ करोड ९३ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले कम्पनीले खुद नाफा २४७ प्रतिशतले बढाउन सफल भएको छ। 

समीक्षा अवधिमा कम्पनीको ईपीएस १५.४७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस ४.४६ रुपैयाँमात्रै थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ।

कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ५१ः४९ अनुपातमा रहेको छ। कम्पनीले अहिलेसम्म एकपटक मात्र सन् २०१५ मा ७ प्रतिशत लाभांश बाँडेको छ भने सन् २०१७ मा ५० प्रतिशत हकप्रद वितरण गरेको थियो। 

प्राविधिक पक्ष 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी न्युट्रल सेन्टिमेन्टमा रहेको देखिन्छ। गएको ५२ सातामा यो कम्पनीको उच्च मूल्य ८१० रुपैयाँसम्म पुगेको देखिन्छ भने न्यून मूल्य ३७१ रुपैयाँसम्म आएको देखिन्छ। आज दोस्रो बजारमा यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ५६८ रुपैयाँ कायम भएको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएआईका आधार 

यो कम्पनी बोलिंगर ब्यान्ड केही खुम्चिएको छ भने मूल्यरेखाहरु पनि मध्य ब्यान्डबाट तल झरेका छन्। यस आधारमा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। मूल्यरेखाहरु ब्यान्डको तल्लो विन्दुसम्म आउन सक्छन्। म्याक्डीमार्फत हेर्दा यो कम्पनीमा गत १९ जनबरीमा बिक्री सिग्नल बनेको देखिन्छ। आरएसआईबाट हेर्दा हाल ४६ को न्युट्रल जोनमा रहेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीको सेयरमा बिक्री दबाब रहेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ६७०
  • प्रतिरोध २– ६४५
  • प्रतिरोध ३– ६२२

पिभट प्वइन्टः  ५९७

घटेमा सपोर्ट 

  • सपोर्ट १– ५७४
  • सपोर्ट २– ५४९
  • सपोर्ट ३– ५२६

निष्कर्ष

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा यो कम्पनी आधारभूत रुपमा बलियो बनेको देखिन्छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ईपीएस लगभग ५ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १५ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थमा सुधार भएको देखिन्छ।  तर, पनि कम्पनीको एनपीएल भने अझै पनि  ५ प्रतिशतभन्दा बढी ६.७६ प्रतिशत रहेको छ । यदि बैंक तथा वित्तीय क्षेत्रको एनपीएल ५ प्रतिशतभन्दा बढी भएमा भने मुनाफा वितरणमा राष्ट्र बैंकले रोक लगाउन सक्छ। 

प्राविधिक रुपमा भने यो कम्पनी अल्पकालमा भने केही करेक्सन हुन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।