काठमाण्डौ । नेपालमा रहेको एउटामात्र अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान अझै व्यवस्थित हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्नुपर्दा अझै पनि सकस हुने गरेको छ ।

अस्ट्रियामा रहेको एउटा व्यवस्थित फुटबल मैदानलाई भने हरियाली वनमा परिणत गरिएको छ । संरक्षण र नियमित मर्मतसम्भारको अभावमा त्यो फुटबल मैदान वनमा परिणत भएको भने होइन, यसमा एउटा ठूलै उद्देश्य लिइएको छ ।

करिब ४९ वर्ष पुरानो बर्दरसी फुटबल मैदान पर्यावरणप्रति सचेत गराउनका लागि हरियाली बनमा परिणत गरिएको हो । त्यहाँ अब कुनै फुटबल खेल हुने छैन । मैदानमा करिब ३०० सय रुख लगाइएको छ । अब दर्शक त्यहाँ फुटबल होइन मैदानमा लगाइएको रुख हेर्न आउने छन् ।

उक्त फुटबल मैदानमा लगाइएको रुख हेर्न अब दर्शकले टिकट पनि काट्नुपर्नेछ । किनकि उनीहरुलाई लागोस् कि वनजंगल हाम्रा लागि अति महत्वपूर्ण रहेको छ ।

समाचार संस्थाहरुका अनुसार उक्त फुटबल मैदानमा रुख प्रदर्शनी आइतबारदेखि खुला गरिनेछ । यो मैदानमा एकपटकमा ३० हजार दर्शक आउँछ ।

मैदानमा लगाइएको रुखबाट हरेक वर्ष करिब ३५ हजार ३८० किलोग्राम अक्सिजन प्राप्त हुने बताइएको छ ।

सन् १९७० मा अस्ट्रियाका म्याक्स पिन्टनरले एउटा पेन्सिल स्केच बनाएका थिए । जसमा मैदानको बीचमा हरियाली वनको अवधारणा प्रस्तुत गरिएको थियो । सोही स्केचको अवधारणालाई मूर्त रुप दिँदै बर्दरसी स्टेडियममा रुखहरु रोपेर प्रदर्शनी सुरु गर्ने प्रोजेक्टमा म्यानेजर क्लसले काम गरेका थिए । – एजेन्सी