काठमाण्डौ । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि बुधबार नेपाल राष्ट्रबैंकले ५०० करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । 

असोज ४ गते ७ दिने अवधिको बित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो । 

जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असोज ११ गतेलाई तोकिएको छ । 

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

रिपोमा सहभागी हुन बैंकहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने छ । परेको बोलकबोलबाट भारित औषतमा ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका एक अधिकारीले बताए । 

निक्षेपको तुलनामा लगानी बिस्तार हुन नसकेको, नेपालीको ठूला चाड दशैंतिहार नजिकिएको, स्थानीय चुनाव सम्पन्न भई प्रदेश र संसदीय चुनाव हुने समेत निश्चित भएपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि रिभर्स रिपो जारी हुने भएको हो ।

के हो रिभर्स रिपो ?

विगत केही समययता बजारमा निरन्तरजसो तरलता बढ्दै गएपछि बैङ्कहरूले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटाउँदै गएका छन् ।

बैङ्कहरूमा रहेको अत्यधिक तरलता घटाउने उद्देश्यले रिभर्स रिपो जारी गरिएको राष्ट्र बैङ्कले बताएको छ । रिभर्स रिपो मुद्रा बजारमा स्थायित्व कायम गर्ने(मुद्रा प्रवाह नियन्त्रण गर्ने) एक मौद्रिक उपकरण हो । बजारमा तरलता धेरै भएको अवस्थामा त्यसबाट हुनसक्ने सम्भावित समस्या (मूल्य वृद्धि, ब्याजदर अनुत्पादक क्षेत्रमा खर्च आदि) नियन्त्रणका लागि केन्द्रीय बैङ्कद्वारा यो जारी गरिन्छ ।

बैङ्कहरूसँग रहेको ट्रेजरी बिल राष्ट्र बैङ्कले खरीद गरेको अवस्थालाई रिपो भनिन्छ । यस्तै, यसरी राष्ट्र बैङ्कमा पुगेको ट्रेजरी बिल बैङ्कहरूलाई पुनः बिक्री गर्ने प्रक्रियालाई रिभर्स रिपो भनिन्छ ।