काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात(सीडी रेसियो) समेत घटिरहेको छ । 

चालु आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साता सुरु हुनै लाग्दा सरकारी खर्च समेत बढ्न थालेपछि र बैंकहरुले सीडी अनुपात मिलाउने कसरत समेत तीव्र पारेसँगै त्यसको प्रभाव वित्तीय सूचकहरुमा देखिन थालेको हो । 

पछिल्लोपटक सोमबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । योसँगै प्रणालीमा कुल निक्षेपको आकार ५० खर्ब ३३ अर्ब पुगेको छ । आइतबार बैंकिङ प्रणालीमा ९ अर्ब निक्षेप बढेको थियो । त्यसको एकदिनअघि प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको सोमबारसम्मको सीडी रेसियो पनि ८८.५८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन ८८.६३ प्रतिशतमा थियो । 

यसैगरी यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ४ अर्बले बढेको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। आइतबारसम्म ४४ खर्ब ४० अर्ब रहेको थियो । 

असार २० गते वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्बले घटी ४१ खर्ब ७५ अर्बमा सीमित बन्न पुगेको छ ।  असार १९ गते २ अर्बले घटेर ४१ खर्ब ७६ अर्बमा झरेको थियो । 

सोमबार बैंकहरुको अन्तरबैंक ब्याजदर पनि केही घटेको छ । आइतबार ७.०१ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर अर्थात बैंकदर केही घटी ६.९९ प्रतिशत कायम भएको हो । 

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।