काठमाण्डौ । व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरको सीमा सम्बन्धी नेपाल बैंकर्स संघले कायम गरेको भद्र सहमति खारेजीसँगै वाणिज्य बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड सुरु भएको छ । 

व्यक्तिगत मुद्धती निक्षेपमा १०.५ प्रतिशतको दरले वार्षिक ब्याज दिन पाइने सहमति खारेजी गरी बैंकर्स संघले बैंकहरुलाई आवश्यकता अनुसार ब्याजदर तोक्न खुल्ला गरिदिएसँगै बढी ब्याज अफर गरी व्यक्तिगत निक्षेप तान्ने होडबाजीमा वाणिज्य बैंकहरु लागेका हुन् । 

यो क्रममा संघको निर्णय आए लगत्तै जनता बैंक नेपालले बुधबारदेखि लागू हुने गरी व्यक्तिगत निक्षेपमा हालसम्मकै सर्वाधिक १२ प्रतिशत ब्याजदरको स्किम कार्यान्वयनमा ल्याएको छ । 

मासिक रुपमा ब्याजको भुक्तानी हुने गरी जनता मुद्धती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर कायम गरिएको बताइएको छ । 

यो मुद्धती योजनामा ग्राहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । यो योजना सीमित अवधिका लागि र व्यक्तिगत निक्षेपमा मात्र लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जनता बैंकले मुद्धती निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्याए पनि उसलाई उछिन्दै माछापुच्छे बैंकले १२.५ प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको छ । 

माछापुच्छे बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १ देखि ५ वर्षसम्मको अवधिका लागि व्यक्तिगत मुद्धतीमा १२.५ प्रतिशत ब्याजको अफर सार्वजनिक गरेको हो । 

सो बैंकका अधिकारीहरुले यो स्किम सीमित अवधिसम्मका लागि मात्र रहनेछ । 

दुई वाणिज्य बैंकहरुले निक्षेप तान्ने उद्देश्य तथा भएका निक्षेप अन्यत्र नजाओस् भन्ने उद्देश्यले ब्याज बढाएपछि अब अन्य बैंकले समेत यो प्रतिस्पर्धामा सहभागिता जनाउने देखिन्छ । यसले ब्याज बढाबढको स्थिति सिर्जना भई मुद्धती निक्षेपको ब्याजदर विगतमा झै १४ प्रतिशतसम्म पुग्नसक्ने अवस्था देखिएको छ । 

बैंकहरुबीच ब्याज बढाउने यो लिगलिगे दौडले बैंकहरुको स्रोतको लागतमा वृद्धि हुन गई ऋणको ब्याज अझै महंगिने र यसले सरकारले लिएको जीडीपी ग्रोथको लक्ष्यमै हिट गर्नसक्ने विश्लेषकहरुले बताएका छन् । 

व्यक्तिगत निक्षेपमा सुरु भएको ब्याज बढाबढको लिगलिगे दौडले घटिरहेको सेयर बजारलाई समेत प्रभाव पार्नसक्ने विश्लेषण हुन थालेको छ ।  किनभने बजार घटेर लगानीकर्ताको सम्पत्ति स्वाहा भइरहेको बेला नवप्रवेशी लगानीकर्ता वा लगानी थप्न चाहने पुराना लगानीकर्ताले समेत बैंकसँग बार्गेन गरेर मुद्धती निक्षेपमा पैसा राखी जोखिमरहित रिटर्नको बाटो नपक्रलान भन्न सकिन्न । 

अर्कोतर्फ बैंकहरुको स्रोतको लागतमै वृद्धि भई ऋणको ब्याज अझै महंगिने भएपछि यसले बजारलाई अझ बढी नकारात्मक प्रभाव पार्नसक्छ । सेयर बजार र ब्याजदरबीच सधैं विपरीत सम्बन्ध हुन्छ । यसको अर्थ ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ ।