काठमाण्डौ । गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहको कठिनाइ झनै बढेको छ। 

अडानी समूहले गोप्य रुपमा आफ्नै सेयर किनेर स्टक एक्सचेन्जमा करोडौँ डलर लगानी गरेको एक मिडिया समूहको रिपोर्टले दाबी गरेको छ। यो प्रतिवेदन गार्जियन र फाइनान्सियल टाइम्सलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले सार्वजनिक गरेको हो।

प्रतिवेदनमा पहिलोपटक अडानी समूहको मौरिससमा गरेको कारोबारको विवरण खुलाएको दाबी गरिएको छ। यसअनुसार सन् २०१३ देखि २०१८ सम्म अडानी समूहका कम्पनीहरुले गोप्य रुपमा सेयर किनेका थिए। गैरलाभकारी मिडिया संगठन ओसीसीआरपीले अडानी समूहको आन्तरिक ई–मेलहरुमार्फत मौरिससबाट कारोबार गरेको पत्ता लागेको दाबी गरेको छ। लगानीकर्ताले विदेशी कम्पनीमार्फत अडानी समूहको सेयर किनबेच गरेको कम्तीमा पनि दुईवटा घटना रहेको आफ्नो अनुसन्धानले देखाएको ओसीसीआरपीले जनाएको छ। 

ओसीसीआरपीको प्रतिवेदनमा दुई लगानीकर्ता नसिर अली शाबान अहली र चाङ चुङ–लिङको नाम लिइएको छ। यी व्यक्ति अडानी परिवारका लामो समयदेखि व्यापारिक साझेदार रहेको प्रतिवेदनमा उल्लेख छ। 

रोयटर्सको रिपोर्टका अनुसार ओसीसीआरपीले दावी गरेको छ कि चाङ र अहलीले लगानी गरेको पैसा अडानी परिवारले दिएको भन्ने कुनै प्रमाण छैन। तर, रिपोर्टिङ र कागजातबाट यो स्पष्ट छ कि अडानी समूहमा उनीहरुको लगानी अडानी समूहले गरेको हो। 

गार्जियन रिपोर्टरसँगको अन्तर्वार्तामा चाङले अडानी समूहको सेयर गोप्य रुपमा खरिद गरेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले पत्रकारले आफ्नो अन्य लगानीमा किन चासो नदिएको भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘हामी साधारण व्यवसायमा छौँ।’

यसैबीच अडानी समूहले एक विज्ञप्ति जारी गर्दै यी आरोपहरुको खण्डन गरेको छ। विदेशी मिडियाको एउटा भागले हिन्डनबर्ग रिपोर्टको जिन्क्सलाई पुनरुत्थान गर्न यस्ता अनर्गल प्रचार गरेको अडानी समूहले दाबी गरेकोछ। 

गत जनवरीको सुरुआत अमेरिकी सर्ट सेलिङ फर्म हिन्डनबर्ग रिसर्चले अडानी समूहको बारेमा एक रिपोर्ट जारी गरेको थियो। जसमा अडानी समूहमाथि सेयर मूल्यमा हेरफेर गरेको गम्भीर आरोप लगाइएको थियो। अडानी समूहले यी आरोपलाई अस्वीकार गरेको थियो। तर, उक्त प्रतिवेदनका कारण अडानी समूहको सेयरमा ठूलो गिरावट आएको थियो र यसको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो। –एजेन्सी