काठमाण्डौ  । स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सले पुनः  ग्राहक शुल्क बढाउने तयारी गरेकोे छ ।

अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार विश्वभर नेटफ्लिक्सका करिब २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेका छन् ।

यो स्ट्रिमिङ सर्भिसले आगामी साताभित्रमा अमेरिका, क्यानडा लगायत विश्व बजारमा आफ्नो बढाइएको शुल्क क्रमश : लागू गर्ने योजना बनाएको छ ।

नेटफ्लिक्सले गत वर्ष मात्रै शुल्क बृद्धि गरेको थियो । कम्पनीले कोभिड(१९ महामारीसँगै बढेका दर्शक घटेपछि आफ्ना सबैथरीका प्लानहरूको शुल्क पुनरावलोकन गरेको थियो ।

यस्तै केही महिनाअघि नेटफ्लिक्सले आफ्ना अनुमानित १०० मिलियन ग्राहकहरूले प्रयोग गर्दै आएको पासवर्ड शेयरिङमा पनि कडाइ गर्दै आफ्नो आम्दानी बृद्धि गर्ने पहल शुरू गरेको थियो ।

कम्पनीले सन् २०२३ को पहिलो दुई ओटा त्रैमासिकमा करिब १७ अर्ब डलर आम्दानी गरेको छ जुन २०२२ को सो अवधिको तुलनामा करिब ४ प्रतिशतले बढी हो ।

कम्पनीको आम्दानी  सन् २०२० मा २४ प्रतिशत र २०२१ मा १८ प्रतिशतले बृद्धि भएको थियो । कोरोना महामारी पछिको जनजीवन सामान्य भएपछि घटेका ग्राहक र आम्दानी बढाउन कम्पनीले अहिले विभिन्न खालका योजनाहरु बनाइरहेको छ ।

करिब ५ महिनासम्म विभिन्न मागसहित हलिउडका लेखक संगठनहरूले गरेको हड्ताल हालैमात्र सहमतिमा टुंगिएकोले कम्पनीले शुल्क बृद्धि गर्न लागेको हो । नेटफ्लिक्सले धेरै वर्षदेखि विश्वभरका मानिसहरूलाई मनोरञ्जन सेवा दिंदै आइरहेको छ।एजेन्सी