काठमाण्डौ । इन्डोनेसियाको पश्चिम मध्य सुमात्रास्थित जंगलमा विश्वकै सबैभन्दा ठूलो फूल फेला परेको छ ।

वन्यजीव अधिकारीहरुका अनुसार यसको नाम रेफलिसिया राखिएको छ । यो ४ वर्गफिट फैलिएको छ । अहिलेसम्म रेकर्ड गरिएको विश्वकै ठूलो फूलको तुलनामा यो झन्डै १ वर्गफिट ठूलो छ । यसअघि सन् २०१७ मा ३ वर्गफिट चौडा र १२ किलो तौल भएको फूल फेला परेको थियो । 

सुमात्राको जंगलमा फेला परेको यो नयाँ फूल हल्का सिम्रिक र सेतो रंगको छ । यो एउटा परजीवी फूल हो । यसबाट निकै दुर्गन्ध आउँछ ।

यो फूल पाँच भागमा विभाजित छ । यसको पुष्पनालबाट आउने गन्धले जंगलमा रहेका किरा–फट्यांग्रालाई आकर्षित गर्छ । यसको गन्धबाट जब किरा–फट्यांग्रा नजिकै आउँछन् तब ती सबै मर्छन् ।

स्थानीयले यो फूललाई ‘लाशको फूल’ पनि भन्ने गरेका छन् । यो फूलको कुनै पात वा जरा हुँदैन । यसले आफ्नो पोषण अन्य बोटबिरुवाबाट प्राप्त गर्छ । यो फूल हरेक वर्ष अक्टोबरमा फुल्न सुरु गर्छ र मार्चसम्म पूर्ण रुपमा फुल्छ।

वैज्ञानिकहरुका अनुसार यो फूल ६५ दिनसम्म मात्र फुल्छ र त्यसपछि मर्छ । यो फूल मर्नुभन्दा एक हप्ताअघिदेखि निकै गन्हाउन थाल्छ । पछि यो कालो रङमा परिवर्तन हुँदै मर्छ । – एजेन्सी