काठमाण्डौ । गण्डकी विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको फेवा विकास बैंकले आफ्ना सेयरधनीलाई २०.६०  प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। 

कात्तिक १९ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २०.६० प्रतिशत लाभांश  वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३० करोड रुपैयाँ खूद नाफा आर्जन गरेको थियो  । 

फेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण समेत मंगलबार नै सार्वजनिक गरिसकेको छ । यो बैंकले पहिलो त्रैमासमा ६ करोड २२ लाख खूद नाफा आर्जन गरेको छ । 

यो अवधिमा फेवाले १२ अर्ब १२ करोड निक्षेप संकलन गरी १० अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकले ९ अर्ब ८४ करोड निक्षेप संकलन गरी ८ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको   खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड ५२ लाख रहेकोमा यो वर्ष खूद ब्याज आम्दानी वृद्धि भई १५ करोड ४७ लाखको उचाईमा पुगेको हो । 

यो बैंकको चुक्तापूँजी ९९ करोड ५० लाख रहेको छ भने जगेडा कोषमा ५५ करोड २२ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको निस्क्रिय कर्जा दर(एनपीएल) वृद्धि भएको छ । अघिल्लो वर्ष पहिलो त्रैमासमा १.३८ प्रतिशत रहेको एनपीएल यो वर्ष बढेर १.५९ प्रतिशत पुगेको हो । 

बैंकको प्रति सेयर आम्दानी २५.०२ रुपैयाँ,  प्रति सेयर नेटवर्थ १५५.५०  रुपैयाँ रहेको छ  ।