काठमाण्डौ । एक फाइनान्स कम्पनी र एक विकास बैंकले पहिलोपटक आर्थिक वर्ष २०७२ ७३ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन् । सिर्जना फाइनान्स लिमीटेड र फेवा विकास बैंकले पहिलोपटक वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन् । दुवै बित्तीय संस्थाले सामान्तार आर्थिक वर्षको तुलनामा नाफा तर्फ निकै ठूलो प्रगति हासिल गरेका छन् । 

सिर्जना फाइनान्स लिमीटेडले गत आर्थिक वर्षमा नाफातर्फ ११४.१५ प्रतिशतको प्रगति हासिल गरेको छ । 

सोमबार कम्पनीले प्रकाशन गरेको बित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७२ ७३ मा नाफा ८ करोड ९३ लाख पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको खूद नाफा ४ करोड १८ लाख मात्र थियो । 

फाइनान्स कम्पनीले संचालन नाफा १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । 

यो कम्पनीले आर्थिक वर्ष अवधिमा २ अर्ब १६ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा फाइनान्सले १ अर्ब ३४ करोड निक्षेप संकलन गरेको थियो भने १ अर्ब १० करोड कर्जा प्रवाह गरेको थियो । 

कम्पनीको अघिल्लो आर्थिक वर्षमा ८ करोड ७१ लाख मात्र रहेको ब्याज नाफा यो वर्ष बढेर १५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीको चुक्तापूँजी २१ करोड १६ लाख रुपैयाँ रहेको छ । सञ्चित कोषमा १५ करोड ८ लाख रहेको छ।

यो कम्पनीको निस्क्रिय कर्जा समेत केही घटेको छ । अघिल्लो आर्थिक वर्षको वार्षिक विवरण अनुसार निस्क्रिय कर्जा ०.७४ प्रतिशत रहेकोमा यो वर्ष घटेर ०.३५ प्रतिशतमा झरेको छ । 

कम्पनीको सिडी रेसियो ७४.५५ प्रतिशत रहेको छ । कम्पनीको वार्षिक रुपमा प्रति सेयर आम्दानी ४२.३३ रुपैयाँ र प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । 

यसैगरी, फेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ४० प्रतिशतले बढाएर ४८ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । बैंकले सोमबार विज्ञप्ति जारी गर्दै नाफामा उल्लेख्य सुधार आएको बताएको हो । 

बैंकले यो अवधिमा निक्षेप दुई अर्ब ३६ करोडले बढाएर ११ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको हो । बैंकले २९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।