काठमाण्डौ । अब फेसबुक, यूट्यूव, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने भएको छ ।
नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै हालसम्म अनधिकृत रुपमा सामाजिक सञ्जालमा हुँदै आएको विज्ञापनमाथि रोक लगाउँदै त्यस्तो कार्य भए त्यो ‘गैरकानूनी’ हुने प्रष्ट पारेको हो ।
फेसबुक, ट्वीटर, युट्यूवजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य समेत गैरकानूनी हुने केन्द्रीय बैंकले सूचनामार्फत प्रष्ट पारेको छ ।
कसैले यो सूचनाको अटेर गरी यस्ता खालको कारोबार भए विदेशी विनिमय अपचलन हुने उल्लेख गर्दै कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय(नियमित गर्ने) ऐन, २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुने समेत प्रष्ट पारिएको छ ।
विगत लामो समयदेखि नेपालबाट यस्ता सामाजिक सञ्जालमा अनधिकृत रुपमा विज्ञापन हुँदै आएको थियो । कसैको विरुद्ध कुनै सामाग्री तयार पारी यस्ता सामाजिक सञ्जालमा हाल्ने र त्यसलाई बुस्ट गर्ने प्रवृति समेत अब यो निर्देशनसँगै रोकिने आशा गरिएको छ ।
यस्तै, पछिल्लो समय नेपालमा कानूनी हिसाबले अनलाइन न्यूजपोर्टलहरु खोल्ने बाढी आएको छ । यो अवस्थामा व्यवसायिक ढंगले खोलिएका अनलाइन न्यूज पोर्टलहरुमा समेत देशका बैंक तथा वित्तीय संस्था, कर्पोरेट सेक्टरबाट जाने विज्ञापन डाइभर्ट गरी यस्ता सामाजिक सञ्जालमा दिइने गरिएको थियो । कतिपय विज्ञापन एजेन्सीहरुकै सहयोग र प्रयासमा कर्पोरेट क्षेत्रका विज्ञापन समेत नेपाली मिडियाहरुलाई बेवास्ता गरी गैरकानूनी ढंगले फेसबुक, युट्यूव जस्ता सञ्जालमा लगाइने गरिएको थियो ।
सानातिना व्यवसाय गर्नेहरुले समेत फेसबुकलाई महंगो मूल्य तिरेर विज्ञापन गर्दै आएका थिए ।
आफ्नो विज्ञापन बजार गैरकानूनी ढंगले सामाजिक सञ्जालहरुले लग्न थालेका विषयमा लामो समयदेखि देशका व्यवसायिक संचार संस्थाहरुले आवाज उठाइरहेका थिए । बिजिनेश न्यूज पोर्टलका संचालकहरुले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति तयार गर्नुअघि राष्ट्रबैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा समेत यो विषयमा ध्यानाकर्षण गराएका थिए । संचार उद्यमीहरुको ध्यानाकर्षणपछि राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यो विषय गम्भीर रहेको भन्दै सम्बोधन गर्ने वचन दिएका थिए । सोहीअनुसार यो विषयलाई मौद्रिक नीतिमा समेटिएको थियो । मौद्रिक नीतिको सोही व्यवस्था राष्ट्रबैंकले कार्यान्वयन गर्नका लागि अर्धवार्षिक समीक्षाअघि सूचनाको रुपमा बाहिर ल्याएको हो ।
सामाजिक सञ्जालहरुमा यसरी विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अबैधानिक रुपमा बाहिरिने गरेको र यस्तो गैरकानूनी कार्यमा रोक लगाउँदा नेपाल भित्रिने विदेशी मुद्रा बढ्ने केन्द्रीय बैंकका अधिकारीहरुको भनाई छ ।
राष्ट्रबैंकको यो निर्देशनपछि युट्यूव च्यानल खोलेर वा फेसबुकको इन्स्ट्यान्ट आर्टिकल लगायतका फिचर्सबाट हुने कमाई समेत अब स्वदेशमा ल्याउँदा बैंकिङ च्यानल प्रयोग गर्नुपर्नेछ । विदेशका विज्ञापन एजेन्सीहरुको अनुरोधमा आफ्नो वेबसाइटमा विज्ञापन हाल्ने र त्यसबाट आउने आम्दानी समेत औपचारिक च्यानलबाट ल्याउनुपर्नेछ । यसअघि यस्ता आम्दानी हुण्डीमार्फत नेपाल भित्रिने गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago