काठमाण्डौ । नेपाल राष्ट्रबैंकले फेसबुक, यूट्यूवजस्ता सामाजिक सञ्जालमा बुस्ट गर्ने कार्यमा कुनै रोक नलगाइएको प्रष्ट पारेको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक बमबहादुर मिश्रले सो विषयमा प्रष्ट पारेका हुन् । 

'हामीले फेसबुकबाट बुस्ट गर्न रोकेका छैनौं ।' उनले भने-'सामाजिक सञ्जालमा विज्ञापन गर्ने नाममा ठूलो रकम अनधिकृत च्यानलबाट बाहिरिएकोले यसलाई व्यवस्थित गर्न खोजिएको हो ।' 

उनले युट्यूवबाट हुने आम्दानी बैधानिक बाटोबाट नआएको र सामाजिक सञ्जालहरुमा अनधिकृत ढंगले वार्षिक ५ अर्ब बढीको विज्ञापन भइरहेकोले यसमा नियमन गर्नुपरेको प्रष्ट्याएका थिए । 

'यी कामहरुलाई बैधानिक गरौं भन्ने राष्ट्रबैंकको आशय हो ।' उनले भने-'बैधानिक च्यानलबारे हामी १५-२० दिनमै निर्णय गर्छौ ।' 

उनले यस्ता सञ्जालहरुमा हुने भुक्तानी वा यस्ता सञ्जालबाट हुने आम्दानी प्राप्तिको माध्यमको विषयमा सरोकारवालासँग बुधबार ४ बजे छलफल राखिएको समेत जानकारी दिए । 

हाल वीच्याटको पेमेन्ट भने एनएमबी बैंकबाट गर्न सकिने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए ।