काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचना अनुसार बैंकको साउन २५ गते सम्पन्न संचालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा आर्जन गरेको खूद नाफाबाट बोनस सेयर दिन लागेको हो । 

प्रस्तावको रुपमा घोषणा गरिएको बोनस सेयरको यो प्रस्ताव नेपाल राष्टबैंक र फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको आगामी वार्षिक साधारणसभाबाट पास हुनुपर्नेछ । 

गत वर्ष पनि यो बैंकले नाफाबाट आफ्ना सेयरधनीलाइृ १५ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । 

फ्रस्ट माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७२/७३ मा ५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी २६ करोड ४५ लाख पुग्नेछ ।