काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कुमारी बैंक लिमीटेडले वितरणयोग्य मुनाफातर्फ कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा २५ करोड १० रुपैयाँमा सीमित वितरणयोग्य नाफामा १४०.५३ प्रतिशतले छलाङ मार्दै ६० करोड ३८ लाख आर्जन गरेको हो । 

बैंकले खूद नाफातर्फ पनि निकै राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३५ करोड १८ लाखमा सीमित खूद नाफा बढेर ६७ करोड ६२ लाखको उचाईमा पुगेको हो । यो हिसाबले खूद नाफातर्फ बैंकले ९२.२२ प्रतिशतको फड्को मारेको देखिन्छ । 

बैंकले संचालन मुनाफातर्फ पनि ९२.२२ प्रतिशतको प्रगति गर्दै अघिल्लो वर्षको ५० करोड २५ लाखबाट ९६ करोड ६० लाखको उचाई चुमाएको छ । 

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान दिएका कारण ८१ करोड ७६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ५१ करोडको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकले ४ अर्ब ४२ करोड ब्इाज आम्दानी गरेको छ । 

समीक्षा अवधिमा बैंकले ७५ अर्ब ४४ करोड निक्षेप संकलन गरी ७० अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७२ अर्ब ४९ करोड निक्षेप संकलन गरी ६७ अर्ब ८२ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लोे वर्षको दोश्रो त्रैमाससम्म ३ अर्ब ९५ करोडमा सीमित रिजर्बकोषको आकार बढाई ४ अर्ब २९ करोड पुर्याएको बैंकको खराब कर्जाको अनुपात भने केही बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १.१४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा(एनपिएल) बढेर १.२२ प्रतिशत पुगेको हो । 

अघिल्लो वर्ष ७.९१ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर यो वर्ष ८.१२ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७८.०७ प्रतिशत रहेको छ । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.६२ रुपैयाँ कायम गरेको बैंकको इक्वीटीमा प्रतिफल ११.६४ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.५० प्रतिशत रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.९० रुपैइाँ र मूल्य आम्दानी अनुपात १३.५९ गुणा कायम गरेको छ ।