– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन काराबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ। 

अघिल्लो साता २०३३.१३ मा बन्द भएको बजार यो साता २०१३.९३ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १९.२ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा करिब ३३ अंकको गिरावट आएको थियो। 

यो साता बजारमा करिब ७ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १० अर्ब ४५ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता बजारमा सूचक र कारोबार दुवैमा गिरावट आएको छ। 

यो सातासहित बजारमा लगातार ५ साता गिरावट आइसकेको छ। यो साता बजार पुँजीकरण भने बढेर ३० खर्ब १४ करोड रुपैयाँ पुगेको छ। 

प्राविधिक पक्ष 

क्यान्डल स्टिकका आधारमा 

क्यान्डल स्टिकका आधारमा यो साता दोस्रो बजारमा अनिर्णयको क्यान्डल बनेको छ। तर, अघिल्लो साताको तुलनामा यो साता घट्न क्रम घटेको छ। अर्थात् साप्ताहिक रुपमा क्यान्डल स्टिकहरु छोटा–छोटा बनेका छन्। 

बजार घट्दा भोलुम पनि घट्दै गएको छ। यसको अर्थ अब बिक्री दबाब कम हुँदै गएको छ। यस हिसाबले ५ साता लगातार घटेको बजारमा यदि आगामी साता सकारात्मक बनेमा बजारले अप ट्रेन्ड लिन सक्छ। 

इलिअट वेभका आधारमा 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

इलिअट वेभमार्फत बजारको पछिल्लो अवस्थालाई नियाल्दा यदि बजारमा माइनरको वेभ २ को अन्त्य भइसकेको हो भने पछिल्लोपटकको न्यून विन्दु १९९० बाट बजारमा नयाँ चक्र सुरुआत हुनुपर्छ। इलिअट वेभको सानो समयावधिमा बजारको वेभ १ मा २०४७ सम्म, हालको करेक्सन वेभ २ मा बजार करिब २००० सम्म, वेभ ३ मा बजार केही बढोत्तरीका साथ २१०० सम्म र ४ मा करेक्सन भएर बजारमा २०७५ सम्म आउन पनि सक्छ। त्यसपछि पुनः बढोत्तरीका साथ बजार २१७५ सम्म बजार पुग्न सक्छ। यो भनेको यदि १०९० भन्दा तल जाँदै भने बजारमा यो चक्र चल्न सक्ने हुन्छ। तर, १९९० भन्दा पनि तल जान्छ भने बजारमा यो गणना अमान्य हुन जान्छ। बजारमा नयाँ लोवर लोको अवस्था बन्छ। त्यो सम्भावना भने बजारमा हालका लागि कमै देखिन्छ। 

बालिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा अघिल्लो महिना सुटिङ स्टार बनेर खसेको बजारले यो साता मध्यब्यान्डमा टच गरेर सपोर्ट लिन खोजेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम सकारात्मक भए पनि छोटो–छोटा हुँदै गएका छन्। तर, बियरिस क्रसओभर भने भइसकेको अवस्था होइन। आरएसआईमार्फत हेर्दा यसअघिको प्रतिरोधको विन्दु ६२ बाट नै बजार खसेको छ। 

के हो बुलिस डाइभर्जेन्स भनेको ?

बजारलाई आरएसआईमार्फत मात्रै गहिरो रुपमा हेर्दा हायर हाई र हायर लो बनेको छ। आरएसआईमा बुलिस डाइभर्जेन्स बनेको छ। बुलिस डाइभर्जेन्स भनेको बजार घटे पनि आरएसआईले हायर हाई र हायर लोका सिरिज  बनाउँदै चल्छ भने त्यसलाई बुलिस डाइभर्जेन्स भनिन्छ।  बजार घटे पनि आरएसआई भने माथि–माथिबाटै फर्केको  देखिन्छ। यस्तो शृंखला करिब १ वर्षदेखि चलेको देखिन्छ। अर्थात् १९ जुन २०२२ मा आरएसआई ओभर सोल्ड जोन २५ सम्म आएको थियो। त्यसपछि बढेर घट्दा क्रमशः  ३२ र ३८ को तहबाट नै माथि फर्केर हाल ४९ को तहमा आरएसआई आएको छ। यस हिसाबले बजार अब घट्ने क्रम रोकिएको देखिन्छ। (हेर्नुुहोस् पार्ट–२)

यसविपरीत बजार बढ्दा आरएआईमा लोवर लो र लोवर हाईका सिरिज बन्छन् भने त्यसले बजार लामो सामय बियरिस जाने संकेत गर्छ। अघिल्लोपटक बजार बुल हुँदा २६७५ बाट माथि लागेपछि बियरिस डाइभर्जेन्स बनेको देखिन्छ। त्यसपछि बजार बढ्दै गर्दा आरएसआईमा बियरिस डाइभर्जेन्स बनेको थियो। 

साप्ताहिका रुपमा आरएसआईमा बियरिस डाइभर्जेन्स देखिएपछि बजारमा करिब १४०० अंकसम्मको गिरावट आएको थियो। (हेर्नुहोस् पार्ट–१)

तर, पछिल्लोपटक बजारमा करिब १ वर्षदेखि भने बुलिस डइभर्जेन्स देखिएको छ। भलै बजारले पिकअप लिन ४–६ महिनाको समय अझै लिन सक्छ। तर, बजार बुलिस बनेकोमा अब धेरै शंका रहँदैन। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२१६०
  • प्रतिरोध २ –२१२७
  • प्रतिरोध १– २०८०

पिभट प्वइन्टः २०४७

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०००
  • सपोर्ट २– १९६७
  • प्रतिरोध ३ –१९२० 

निष्कर्ष

अघिल्लो साता ३३ अंकले घटेको बजार यो साता १९.२ अंकले बजार घटेको छ। यो साता बजार घट्दा कारोबार पनि घटेको छ। पिभटमार्फत हेर्दा यो साता एक्ज्याक्ट पिभट प्वइन्ट २०४७ मा प्रतिरोध सामना गरेर बजार खसेको छ। अल्पकालमा बजारमा केही करेक्सन देखिए पनि दीर्घकालमा भने बजारले लय समात्ने प्रस्ट हुन्छ। अर्थात् बुलिस बन्दै गरेको देखिन्छ। बजारलाई मूल्यरेखा र आरएआईमार्फत साप्ताहिक रुपमा हेर्दा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ। अर्थात् विगत १ वर्षदेखि बजार घट्दा आरएसआईले हायर हाई र हायर लोका सिरिज बनेको देखिन्छ। 

विगत १ वर्षदेखि म्याक्डीमा पनि यही शृंखला बनेको देखिन्छ। साप्ताहिक रुपमा म्याक्डी जिरो लाइनभन्दा माथि चलेको देखिन्छ। यसकारण बजार विस्तारै बुलिस यात्रा तय गर्दै गरेको बुझ्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।