काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९४ अंकले बढेर ३७४.३६को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘लगानीकर्ताले लामो समयदेखि नेपाल राष्ट्र बैंकको नीतिमा करेक्सन चाहेका थिए ।र त्यो केहि हदसम्म पुरा भएपछि भविष्यमा पनि सुधार हुने आशामा लगानीकर्ताहरुले खरिद बढाएका हुन् ।ब्याजदर पनि घट्दै जाने र अन्य क्षेत्रमा पनि संकुचनमा रहँदा पूँजीबजारमा आशा पलाएको हो ।केहिदिन यता कारोबार र भोलुम पनि बढेको छ। यसका साथै विभिन्न कम्पनीको सेयरमूल्य सस्तो रहेकाले पनि बजार बढेको हो ।’
 

उनका अनुसार अब बजार १८०० बाट तल जाँदैन भन्ने आत्मविश्वास लगानीकर्तामा बढेको र बजार माथि जानलाई आधार पनि बनेको छ ।
अर्का बजार जानकार दामोदर गजुरेलको विचारमा नेपाल राष्ट्र बैंकको
 नीतिमा लचक्ता आएका कारण नै बजार बढेको हो ।धेरै लगानीकर्ता डराएकाले गर्दा उनीहरु पर्ख र हेरको अवस्थामा थिए । घरजग्गा र सेयर कर्जाको औसत भार पनि घटेको छ ।सोमबारको करेक्सन स्वभाविक पनि थियो ।

उनी भन्छन्,‘ केहि दिनदेखि कारोबार र भोलुम पनि बढेको छ, यसले संस्थागत लगानीकर्ता बजार पसेको बुझिन्छ ।’

उनले थप्दै भने, ‘बजारलाई हेर्दा यो बुलको प्रारम्भिक चरण पनि हो ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा हरियाली छाएको छ ।यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम समूह ४.३३ प्रतिशतले बढेको छ ।

यसैगरी, दोस्रोमा हाइड्रोपावर समूह ३.३० प्रतिशतले बढेको छ ।त्यस्तै वित्त समूह ३.२३ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन जीवन बीमा समूह ३.०५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह र अन्य समूह २.३८ र २.७० प्रतिशतले बढेको  छ। यसैगरी व्यापार समूह २.१४ प्रतिशतले बढेको  छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टस्को भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको  छ। यसैगरी, सोनापुर आयल एन्ड मिनरल्सको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यसैगरी, माउन्टेन इनर्जि पावरको ११ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन आठ ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा बोटलर्स नेपाल (बालाजु),धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, सोनापुर आयल एन्ड मिनरल्स, मानुषी लघुवित्त वित्तीय संस्था,त्रिशुली जलविद्युत् कम्पनी र डोल्टी पावर कम्पनी रहेका छन् ।

यसैगरी, सानीमा लार्ज क्याप फन्डको इकाईमा पनि सकारात्मक सर्किट लागेको छ ।
 

त्यस्तै, यो दिन सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.११ र सिंगटी हाइड्रोपावरको सेयरमूल्य ४.७३ प्रतिशतले घटेको छ । यसैगरी, छिमेक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ ।

कम्पनीले  गत आर्थिक वर्षको मुनाफाबाट मंगलबार नै ५ प्रतिशत बोनस सेयर र करप्रयोजसहित १५ प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश घोषणा गरेको  छ।

कम्पनीले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै कम हो । जसले गर्दा पनि यो दिन कम्पनीको सेयरमूल्य घटेको हो । यो दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९०० रुपैयाँ कायम भएको छ ।