काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ६.५५ अंकले बढेर १ हजार ९९४.६० को विन्दुमा बन्द भएको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ३७६.३६को विन्दुमा पुगेको छ। 
 

आज नेप्सेमा सूचीकृतमध्ये ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार बराबरको् कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष  राजन लम्साल भन्छन्, ‘बजारमा हिजोदेखि नै करेक्सन आउन खोजेता पनि हुन सकेको छैन,किन कि लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा छन्,  ब्याजदर पनि घट्दो क्रममा रहेको र तरलता पनि फालाफाल रहेको अवस्था छ । ३ अर्ब रुपैयाँभन्दा माथि कारोबार हुनु भनेको बजारलाई भोलुमले पनि साथ दिएको भनेर बुझ्न सकिन्छ । बजारमा विस्तारै नयाँ पैसा आउन सुरु गरेको देखिन्छ ।यसकारण अबको बजारको यात्रा अगाडि बढ्ने नै हो ।’

अर्का बजार जानकार अर्जुन थापा बजारमा लगानीकर्ताको मनोबल बढेको बताउँछन् ।

उनी भन्छन्, ‘चार महिनामा ४ खर्ब रुपैयाँ रेमिट्यान्स पनि बढेको छ, पुस महिनाबाटै ब्यादजर घट्ने हुनाले लगानीकर्ताले मनोबल बढेको अवस्था छ ।सरकार र नेपाल राष्ट्र बैंकका गभर्नर पनि बजारप्रति सकारात्मक देखिन्छन् ।त्यसकारण पनि बजार बढ्नुको विकल्प छैन ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये जीवन बीमा,ब्यापार, लगानी,बैंकिङ र लघुवित्त समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ ।
 यो दिन सबैभन्दा बढी अन्य समूह १.५१ प्रतिशतले बढेको छ । यसैगरी दोस्रोमा विकास बैंक १.३३ प्रतिशतले बढेको छ ।त्यस्तै हाइड्रोपावर समूह १.१२ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन ब्यापार समूह सबैभन्दा बढी ०.९२ प्रतिशतले घटेको छ । त्यसैगरी लघुवित्त समूह र जीवन बीमा समूह क्रमश : ०.४८ र ०.१३ प्रतिशतले  घटेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ९ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ९ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन आठ ओटा अलग-अलग
कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रोपावर, नेपा रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, डोल्टि पावर, मिड सोलु हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनी छन् । बिहीबारदेखि मुक्तिनाथ कृषि कम्पनीको पहिलो दिन दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ ।

त्यस्तै, यो दिन गुराँस र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य क्रमशः ४.९८ र ४.७८ प्रतिशतले घटेको छ ।

यसैगरी, सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.०४ प्रतिशतले घटेको  छ।