काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। 

बजार आज ५.१६ अंकले बढेर १ हजार ८९४.७६ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले बढेर ३६२.०८ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँमा कारोबार भएका छन्।
आजको बजार बढाई बारे बजार जानकार केशव कोइराला(काका) ले बजारमा प्यानिक सेल सकिएको बताएका छन् ।

उनी भन्छन्, ‘ हिजोसम्म कर तिर्नुपर्ने र ब्याज तिर्नुपर्ने व्यक्तिहरुले सेयर बिक्री गरिरहेका थिए, दसैंको प्रभाव पनि थियो, ठूला लगानीकर्ताले क्यापमा ५० करोड रुपैयाँसम्म हुने आश गरेका थिए, त्यो नहुँदा केहिदिन बजारमा उनीहरुले आवश्यकताभन्दा बढी सेयर सप्लाई गरेर आक्रोस पोखेका हुन सक्छन् ।’ उनले आगामी दिनमा आईपीआको बाढी रोकियो भने बजार माथि नै जाने,आईपीओ प्रिमियममा भन्दा पनि बुकविल्डिङमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।


अर्का बजार जानकार सूर्यनारायण पौडेल चाहिं अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् । अव ब्याज दर के हुन्छ भन्ने बारेमा लगानीकर्ताहरुले चासोका साथ हेरेको पनि उनले बताए । उनी भन्छन्,‘ बजार अहिले घट्नुमा राष्ट्रिय र अन्तर्तराष्ट्रिय दुवै कारण छन्, यद्यपि आजको बजार बढाईलाई सकारात्मक रुपमा लिनु पर्दछ, बजारको दिशा भने दसैंपछिको कारोबारले नै प्रष्ट पार्नेनै छ ।’

आज नेप्से उपसमूहमा रहेका तीन वटा समूह बाहेक अरु सबैमा हरियाली छाएको छ । यो दिन  होटल एण्ड टुरिजम समूह सर्वाधिक १.८० प्रतिशतले बढेको छ। त्यसपछि म्युचुअल फण्ड समूह १.०७ प्रतिशतले बढेको छ भने तेस्रोमा  हाइड्रो पावर समूहमा ०.५५ प्रतिशतले बढेको छ। त्यसपछि उत्पादन समूह र व्यापार समूह समान ०.१३ प्रतिशतले ओरालो लागेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु 

यो दिन माण्डू हाइड्र्रोपावर कम्पनीको सर्वाधिक ४८ करोड ९० हजार रुपैयाँ बढीको कारोबार भएको छ । यो कम्पनीको बुधबार मात्रै दोस्र्रोबजारमा कारोबार शुरु भएको हो । एनआईसी एशिया बैंकको ३५करोड ४५ लाख रुपैयाँ भन्दा बढीको  कारोबार भएको छ भने नबिल बैंकको ३३ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटल तथा मान्डू हाइड्रो पावरका सेयरधनीहरुले धेरै कमाएका छन् । सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मान्डू हाइड्रोपावरको सेयरभाउ ९.९९प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सानिमा जीआईसी इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४.२१ प्रतिशत बढीले ओरालो लागेको छ।