काठमाण्डौ । लामो पर्व विदापछि मंसिर ४ गते सोमबार खुलेको  सेयर बजार १.३९ अंकले बढेको छ ।

यो दिन १.३९ले अंकले बढेको बजार १ हजार ८५३.४८ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले घटेर ३५६.५४ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्, ‘अझै पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । अझै पनि सोचेजसरी बजार नबढ्नुमा दुई तीन वटा कारण छन् । पहिलो भनेको आईपीओ र हकप्रदको ओभर सप्लाई नै हो । दोस्रो चाहिं सामाजिक अभियन्ता दुर्गा प्रसाईंले गर्न लागेको आन्दोलनले गर्दा लगानीकर्ताले ठूलो लगानी गरिहाल्न डराएको अवस्था छ ।’

उनले आन्दोलनको प्रभाव क्षणिक रुपमा पर्छ, ब्याज र बैंककको आधारदर(बेसरेट) घट्दै गएकाले अबका दिनमा बजारले माथिको यात्रा नै तय गर्ने पनि बताए । यसैगरी अर्का बजार जानकार गोबिन्दप्रसाद घिमिरे भने बजारले गति नलिनुमा चाडपर्वको प्रभाव अझै नसकिएको बताउँछन् ।

उनका अनुसार अझै पनि लगानीकर्ताहरु चाडपर्वकै मूडमा रहेकाले बजार गति लिन नसकेको हो । उनका अनुसार बचतको ब्याजदर घटेता पनि कर्जाको ब्याजदर नघटिसकेको हुँदा बजारले सोचे जसरी गति लिन नसकेको हो ।उनी भन्छन्, ‘ यतिखेर बजारमा नकारात्मक विषयवस्तु पनि केहि छैन, सबै कुरा सकारात्मक बन्दै गएकाले बजारले विस्तारै लय भने अवस्य समात्छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूह मध्ये होटल एन्ड टुरिजम, उत्पादन तथा प्रशोधन, लघुवित्त तथा अन्य समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।  यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.९१ प्रतिशटले घटेको छ । यसैगरी दोस्रोमा होटल एन्ड टुरिजम समूह १.८३ प्रतिशतले घटेको  छ।

यसैगरी, यो दिन सवैभन्दा बढी व्यापार समूह १.४२ प्रतिशतले बढेको छ  । यसैगरी, विकास बैंक समूह १.२६ प्रतिशतले बढेको छ ।यसैगरी जीवन बीमा समूह ०.९७ प्रतिशतले बढेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन हिमालयन डिस्टीलरीका सेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको सर्वाधिक ७ करोड  ३६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी दोस्रोमा सोल्टी होटलको ६करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ । कम्पनीले सोमबार नै ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।यसैगरी सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ५ करोड ८८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । यसैगरी, कर्णाली
डेभलपमेन्ट बैंको सेयरभाउ ९.९६ प्रतिशतले उकालो लागेको छ । 

 यसैगरी, यो दिन माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको पहिलो कारोबार दिन नै १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । 

त्यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा पनि नकारात्मक सर्किट लागेको छ ।