काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार बजार ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा बन्द भएको छ । 
 

यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४०अंकले बढेर ३८६.३३ को विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०१ वटा कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
 

आजको कारोबार बारे  बजार जानकार केशब कोइराला(काका) भन्छन्, ‘ब्याजदर घट्दै गएको कारण यसको प्रभाव आजको बजारमा प्रभाव परेको हो, निक्षेपको ब्याजदर एकल अंकमा आएको छ ।यसकारणले पनि लगानीकर्ताको मनोबल बढेको छ। यद्यपि सेयर लोन भने अझै सोचेअनुरुप नआइसकेको अवस्था छ किनकि लगानीकर्ताले विभिन्न कम्पनीका दोस्रो त्रैमासको वित्तीय विवरण कुरेको देखिन्छ।’

उनका अनुसार धेरै जसो लगानीकर्ता सेयर कर्जा लिएर सेयर किन्ने प्रक्रियामा रहेकाले आगामी माघ महिनाबाट बजारले राम्रो पिकअप लिन सक्ने देखिन्छ। अर्का बजार जानकार उपेन्द्र पाठक पनि ब्याजदर घट्दै जाँदा सेयरबजार पनि बढ्दै गएको बताउँछन्।

उनी भन्छन्, ‘यो समय सेयरलाई माया गर्ने बेला हो तापनि सोचेअनुरुप बजार अझै बढ्न सकेको छैन।किनकि ब्रोकरको हिसाबकिताब अझै बाँकी रहेको जस्तो देखिन्छ। पुराना ब्रोकरले ओभरड्राफ्ट(ओडी) चलाएको भएता पनि नयाँ ब्रोकरले भने नपाएको अवस्था छ।यद्यपि केन्द्रीय बैंकले अझै नीतिमा लचकता अपनाउनु आवश्यक छ।’
 

उनका अनुसार केन्द्रीय बैंकले २० करोड रुपैयाँको क्याप हटाउने र कर्जाको भ्यालू रेसियो घटाउन विशेष ध्यान दिन आवश्यक छ।
 

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये सात वटा समूह राताम्मे भएको छ । यो दिन होटल एन्ड टुरिजम समूह ०.८४ प्रतिशतले घटेको छ ।त्यस्तै लगानी समूह ०.६३ प्रतिशतले घटेको छ । यसैगरी, यो दिन अन्य समूह सबैभन्दा बढी अर्थात् २.२१ प्रतिशतले बढेको छ ।त्यस्तै बैंकिङ समूह र उत्पादन तथा प्रोसेसिङ समूह समान १.१२ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको ३२ करोड ७८
 लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यस्तै नेपाल रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले २८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कम्पनीले बुधबार मात्रै गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(करप्रयोजनका लागि) घोषणा गरेको थियो । 

त्यस्तै,ङादी ग्रूप पावरको बढीको १५ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।हाथवे इन्भेष्टमेन्ट नेपालको १४ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउने र गुमाउने
यो दिन पाँच
 वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन पनि हिमालयन रि-इन्स्योरेन्स,मनकामना स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै ङादी ग्रूप पावर कम्पनीको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
 

यसैगरी, यो दिन छिमेक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.९५ प्रतिशतले घटेको छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकको डिवेञ्चर कम्पनीको इकाई ५.८७ प्रतिशतले घटेको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ४.६१ प्रतिशतले घटेको छ ।