– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ। 

अघिल्लो साता २०६६.०५ मा बन्द भएको बजार यो साता २०३३.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ३२.९२ अंकको बजारमा गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा करिब २५ अंकको गिरावट आएको थियो। 

यो साता बजारमा १० अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १० अर्ब ८० करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता पनि बजारमा नेप्से सूचक र कारोबार दुवैमा गिरावट आएको छ। 

यो साता बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब पुगेको छ। यो सातासम्म बजार लगातार ४ साता  घटेको छ। 

यो साताको बजारको विश्लेषण हामीले साप्ताहिक रुपमा मात्रै नभएर मासिक र वार्षिक रुपमा पनि गरेका छौँ।

बजार खसेको दुई वर्ष पूरा 

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दु चुमेको आज ठ्याक्कै २ वर्ष पुगेको छ। २०२१ अगस्ट १८ आजैका दिन बजारले अहिलेसम्मकै उच्च विन्दु ३१९८ मा बन्द भएको थियो। इन्ट्रा डेमा भने बजार ३२२२ सम्म पुगेको थियो। त्यो दिन बजारमा २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। 

हालसम्मै उच्च कारोबार भने दोस्रो बजारमा १५ अगस्ट २०२१ मा २१ अर्ब ६२ करोड रुपैयाँको भएको थियो। १८ अगस्ट २०२१ मा उच्च विन्दु बनाएको बजारले हालसम्म ३ पटक करिब १८०० को विन्दुमा बटम र ३ पटक नै २२०० मै टप बनाएर यो साता २०३३ मा बन्द भएको छ। 

उच्च विन्दुपछि एकपटक २९०० सम्म पुगेको बजार त्यसपछि २२०० माथि जान भने सकेको छैन। 

प्राविधिक रुपमा अबको सम्भावना ?

प्राविधिक रुपमा मन्थ्ली बेसमा बोलिंगर ब्यान्डबाट हेर्दा बजारले २२ महिनापछि अप्पर ब्यान्डबाट खसेको बजार लोवर ब्यान्डमा सपोर्ट लिएर पुनः मध्य ब्यान्डमा टच गरेको छ। तर, मध्य ब्यान्ड ब्रेक गर्न सकेको छैन (हेर्नुहोस् कालो एरो)। यसले बजार साइडवेजमा चलेका तर बुल रन लिन नसकेको बुझिन्छ। तर, बजार घट्न रोकिएको अवस्था पनि लामो समय अवधिको विश्लेषणमा देखिन्छ। 

मन्थ्ली बेसमा यदि बजारले बोलिंगरको मध्य ब्यान्ड ब्रेक गर्छ अर्थात् भोलुमसहित २२५० भन्दा माथि जान्छ भने प्राविधिक रुपमा बजार बुल भएको मान्न सकिन्छ। अन्यथा त्यहाँभन्दा तल चलिन्जेल बजार साइड वेज नै मान्न सकिन्छ। 

मन्थ्ली बेसमा नै म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम छोटा–छोटा र फिक्का हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भने भइसकेको अवस्था छैन। यदि आगामी कारोबारमा म्याक्डीमा बुलिसक्रस र बोलिंगर ब्यान्डको मध्य ब्यान्ड ब्रेक भएर बजार माथि गएको खण्डमा भने बजारको बुलिस यात्रा निश्चित हुन सक्छ। 

मन्थ्ली बेसमै आरएसआई ४८ को तहमा रहेको छ। ५२ भन्दा माथि पुगेको खण्डमा बजार बुल हुन सक्छ। 

साप्ताहिक रुपमा बजारको अवस्था कस्तो ?

साप्ताहिक रुपमा बजारलाई हेर्दा ३ सातादेखि निरन्तर घटेको बजारले यो साता पनि निरन्तरता पाएको छ। बोलिंगरको अपर ब्यान्डबाट खसेका बजारले मध्य ब्यान्डमा सपोर्ट लिन सक्ने देखिन्छ। त्यो भनेको करिब १९८० देखि ९० को बीच हुन सक्छ। 

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन्। यसले बजारमा बिक्री दबाब रहेको बुझ्न सकिन्छ। 

आरएसआई पनि घट्दो क्रममा रहेको देखिन्छ। यसकारण अल्पकालमा भने बजारमा आगामी साताको केही कारोबारमा बिक्री दबाब रहेर अन्तिम कारोबारदेखि सुधारको सम्भावना रहन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा हेर्दा बजारमा बिक्री दबाब नै रहेको देखिन्छ। मूल्यरेखाले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको छ भने सुपर ट्रेन्डको रङ हरियोबाट रातो बनेको छ। यदि आगामी कारोबारमा बजार २०६० भन्दा माथि गएमा बजारको माथिको यात्रा तय गर्न सक्छ। अन्यथा बजारमा बिक्री दबाब नै रहन सक्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२२१३
  • प्रतिरोध २ –२१५७
  • प्रतिरोध १– २१११

पिभट प्वइन्टः २०५६

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०१०
  • सपोर्ट २– १९५४
  • प्रतिरोध ३ –१९०८

निष्कर्ष

आज अर्थात अगस्ट १८ मा बजार उच्च बिन्दुबाट खसेको २ वर्ष पूरा भएको छ। योबीचमा बजारले ३ पटक बटम र ३ पटक टप लगाएको छ। बजार जहिले पनि बुलिस, बियरिस र साइडवेज चल्ने भएकोले हालको बजार साइडवेज चलेको देखिन्छ। विगत २ वर्षमा पनि बजार १० महिनाजति सार्प फल भएको र बाँकी १४ महिना १८०० देखि २००० सम्म साइडवेज चलेको देखिन्छ। 

बजारलाई १ महिनाको अवधिमा विभिन्न इन्डिेकटरमार्फत नियाल्दा बजारले डबल बटम, ट्रिपल बटम, राउन्डिङ बटम र न्यून विन्दुमा ट्विजर बटम बनाएकोले ढिलो–चाँडो बजारले नयाँ उचाइतर्फ फड्को मार्ने सम्भावना अधिक देखिन्छ। तर, यसका लागि एकपटक बजार भोलुमसहित २२५० माथि बन्द हुनुपर्ने देखिन्छ। अर्थात्, हालको प्रतिरोधको विन्दुहरुलाई ब्रेक गरेर माथि जानुपर्ने हुन्छ।

बजारलाई साप्ताहिक रुपमा नियाल्दा अल्पकालीन रुपमा अझै केही अंक गुमाएपछि मात्रै आगामी साताबाट बजार  माथिको यात्रा तय गर्न सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन।