काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार १०.१० अंकले घटेर १ हजार ८३७.७१ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले घटेर ३५१.०७ को विन्दुमा पुगेको छ। 
आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८रुपैयाँ बराबरको कारोबार भएको छ ।  
आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठकले बजार घट्नुमा लगानीकर्ताको मनोबल खस्किएर नै भएको बताए । उनी भारतको सेयर बजार बढ्को सन्दर्भलाई जोड्दै भन्छन्, ‘ भारतमा प्रधानमन्त्रीले नै लगानीकर्तालाई ढाडस दिने गरेका छन्, तर हाम्रोमा ठिक उल्टो छ । प्रधानमन्त्री र अर्थमन्त्री दुबैले यति ठूलो लगानी भएको क्षेत्रका लगानीकर्ताप्रति जवाफदेहि हुन चाहेनन् । त्यसै कारण हाम्रो पूँजीबजार निरन्तर खस्किन पुगेको हो । बैंक तथा वित्तीय संस्थाले सिमा भित्र बसेर कर्जा प्रबाह गरेको विषयलाई पनि सरकारले नजरअन्दाज गरयो । पूँजीबजार जनताको रोजीरोटीसँग पनि जोडिएको छ ।किन यो क्षेत्रमा विद्यार्थीदेखि गृहिणीसम्म जोडिएका छन् ।’

उनका अनुसार मौद्रिक समीक्षामाफत् पूँजीबजारको समस्या प्याकेजमा नै समाधान खोज्नु पर्दछ । यो बाहेक अरु विकल्प देखिदैन ।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरेले पनि लगानीकर्ताको मनोवल खस्किदा बजार घटेको बताउँछन् ।

उनी भन्छन्, ‘ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले बजार घटेको हो ।’ उनले पनि भारतको अर्थतन्त्र बुम हुँदा सेयर बजारले पनि ठूलो फड्को मारेको प्रसंग जोड्दै नेपालको सेयर बजार दैनिक ओरालो लाग्नु आश्चर्यजनक भएको बताए ।

उनका अनुसार आउँदै गरेको मौद्रिक नीतिको समीक्षामा जोखिम भार घटाउनेलगायत नीतिगत परिवर्तन गर्नैपर्दछ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये जीबन बीमा बाहेक अरु समूह राताम्मे भएका छन् ।यो दिन सबैभन्दा बढी जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ । यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ समूह २.५७ प्रतिशतले घटेको छ  ।

यसैगरी, यो दिन होटल तथा टुरिजम  समूह १.७१ प्रतिशतले घटेको छ । यसैगरी व्यापार समूह १.११ प्रतिशतले घटेको छ ।त्यस्तै वित्त समूह ०.८० प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी माउन्टेन इनर्जि लिमिटेडको ३६ करोड २९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
यो दिन  सिंगटी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ ।यसैगरी, सिभिल बैंकको डिवेञ्चर इकाई ७.३६ प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको इकाइ  ४.२९ प्रतिशतले उकालो लागेको छ ।त्यस्तै, यो दिन बीशाल बजार कम्पनीको सेयरमूल्य ९.५३ प्रतिशतले घटेको छ ।

त्यस्तै माउन्टेन इनर्जि लिमिटेडको सेयरमूल्य ८.९४ प्रतिशतले घटेको छ । यस्तै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.८१ प्रतिशतले घटेको छ ।