काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा अघिल्लो सातादेखि गोल्डेन क्रसओभर हुँदै गरेको देखिन्छ। योसँगै सामाजिक सञ्जालमा गोल्डेन क्रसओभरको निकै चर्चा सुनिएको छ। 

त्यसो भए के हो त गोल्डेन क्रसओभर र डेथ क्रस ओभर ? गोल्डेन क्रसओभर भनेको मुभिङ एभरेजमा यदि ५० दिन मुभिङ रेखा (हेर्नुहोस् रातो लाइन) ले २०० दिनको रेखालाई तलबाट काट्छ भने त्यसलाई गोल्डेन क्रसओभर भनिन्छ (हेर्नुहोस् हरियो एरो)। त्यसविपरीत यदि ५० दिने मुभिङ एभरेजको रेखाले २०० दिने मुभिङ एभरेजलाई माथिबाट काट्छ भने त्यसलाई डेथ क्रसओभर भनिन्छ। 

अघिल्लोपटक बजार घट्दा करिब २७६० तिर डेथ क्रसओभर बनेको थियो। नेप्से अल टाइम हाईबाट करिब ४५० अंक घटेपछि मात्रै यसले बिक्री सिग्नल दिएको थियो। त्यसैले यसलाई ल्यागिङ इन्डिकेटर पनि भनिन्छ। 

बजार बुलमा जाँदा पनि करिब ४०० अंक बढेपछि मात्रै खरिद सिग्नल देखाएको छ। प्रायः साइडवेज बजारमा यसले फल्स सिग्नल दिएको पनि नेप्सेको सन् १९९८ देखिको करिब २४ वर्षको चार्ट हेर्दा भेट्न सकिन्छ। यसले खासगरी अल्पकालीन लगानीकर्ताभन्दा पनि दीर्घकालीन लागनीकर्ताका लागिमात्रै उपयुक्त हुने देखिन्छ। 

अहिलेको अवस्थामा के गर्दा उपयुक्त ?

नेप्सेको दैनिक चार्टमा करिब–करिब गोल्डेन क्रसओभर भएको देखिन्छ। तर, कन्फर्मेसन नै मिलेको भनेर भन्न सकिने अवस्था छैन। 

नेप्सेको २४ वर्षको चार्टलाई डेली बेसमा हेर्दा धेरै पटक फल्स सिग्नल पनि दिएको पाइन्छ। तर, यही चार्टलाई ३ दिनको चार्टमा हेर्दा यसको एक्युरिसी लगभग ९० प्रतिशत मिलेको देखिन्छ। यसमा भने अहिले नै गोल्डेन क्रसओभर भइनसकेको अवस्था रहेको छ। 

यस आधारमा भन्न सकिन्छ सेयर किन्नका लागि ३ दिनको चार्टमा गोल्डेन क्रसओभर भएमा एक्युरिसी बढी हुने देखिन्छ। तर, बेच्ने भने डेली टाइम फेरेम नै उपयुक्त हुन्छ। किनकि डेली बेसमा छिटो बिक्री सिग्नल दिएको हुन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।