– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारको चर्चा प्रायः दुई कारणले निकै चल्ने गर्छ। एउटा कारण भनेको बजार बढेर दैनिक नयाँ रेकर्ड बनाउँदा र अर्को कारण भनेको जब बजार घटेर तल्लो विन्दुमा पुग्छ। 

सेयर बजारमात्रै एउटा यस्तो ठाउँ हो, जहाँ जति बढ्यो त्यत्ति नै माग बढ्दै जान्छ। यसरी बजार बढ्दा नै दोस्रो बजारमा किन लगानीकर्ताहरु ओइरहन्छन् त ? 

करिब २०० वर्ष पहिला नै वाल स्ट्रिट जर्नलका प्रधान सम्पादक आरएन इलिअटले दोस्रो बजारमा नयाँ लागानीकर्ताका विषयमा अध्ययन गरेका थिए। 

इलिअट वेभ

यो सिद्धान्तमा ८ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

वेभ ५ मा नै किन आउँछन् नयाँ लगानीकर्ता ?

इलिअट वेभ सिद्धान्तअनुसार सुरुमै वेभ १ यही हो भनेर निक्र्यौल गर्न सम्भव देखिँदैन। जब लगभग ६१.८ प्रतिशत करेक्सन भएर वेभ २ बनेको हुन्छ र वेभ ३ को सुरुआत हुन्छ। त्यसपछि मात्रै वेभ १ बन्यो भन्ने निक्र्यौल हुन्छ। यो समयसम्म पनि बजारमा नयाँ लगानीकर्ता छिरेको हुँदैन। 

बजारमा लगानीकर्ताको मनोविज्ञान कस्तो बनेको हुन्छ भने वेभ ३ सकिँदासम्म पनि बजार बढ्छ भन्ने विश्वास गरेका हुँदैनन्। प्रायः अरुले सेयर खरिद गर्न दिएको सल्लाह पनि उनीहरु अस्वीकार गर्छन्। 

जब बजार दैनिक बढ्न थाल्छ तब सडकदेखि सदनसम्म सेयर बजारको चर्चा सुनिन्छ। त्यो अवस्थामा मात्रै नयाँ लगानीकर्ता बजारमा छिर्ने गर्छन्। यो भनेको इलिअट वेभको आधारमा वेभ ५ चलेको हुन्छ। 

इलिअट वेभमा वेभ ५ सकिएपछि करेक्सनको समय वेभ ए, बी र सी चलेको हुन्छ। यो भनेको बजार करेक्सनको समय हो। यो बेलामात्रै दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्छन् र बजार घट्न थाल्छ। यही कारणले यो बेला प्रायः नयाँ लगानीकर्ता बुल ट्रयापमा पर्ने गर्छन्।