काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार ४३.२७ अंकले बढेको छ।

यो दिन ४३.२७ अंकले बढेको बजार १९०७.८९ को विन्दुमा पुगेको छ। यो दिन नेपाल धितोपत्र बोर्डले दलाल शुल्क र आफ्नो शुल्क घटाएको खबर सार्वजनिक भएसँगै नेप्से परिसूचक बढेको छ।

यसैगरी यो दिन अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका कारण बजार बढ्न टेवा पुगेको देखिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१४ अंकले बढेर ३६६.९७ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ३७ लाख ७२ हजार २३ कित्ता सेयर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँमा कारोबार भएको छ।

आजको बढेको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘विगतमा पनि घटनास्थपनापछि बजार बढ्थ्यो नै, दसैँको दबाब सकिएकोले पनि बजार बढ्न मद्धत पुगेको हो।’ 

उनले बजार बढ्नुमा दुई-तीनवटा सकारात्मक पक्षहरु रहेको पनि बताए।

उनका अनुसार बैंकको ब्याजदर घट्नु, धितोपत्र बोर्ड तथा ब्रोकर(दलाल)को कमिसन पनि घट्नुजस्ता कारणले गर्दा बजार सकारात्मक बनेको हो। यतिमात्र नभई गैरआवासीय नेपालीलाई नागरिकता दिने वातावरण बनाइनु र बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति दिनुले पनि गर्दा बजार बढ्न सहयोग पुगेको हो ।

उनले दसैँको कारण बजारमा कारोबार भने बढ्न नसकेको बताए । उनका अनुसार बजार माथि जानका लागि सप्लाई रोकिनु आवश्यक छ।

अर्का बजार जानकार सरोज भट्टराई भन्छन्, ‘दसैँ बिदाका लागि कारोबार हुन अब दुई दिनमात्रै बाँकी छ। लामो समयदेखि घटिरहेको बजारमा कम्पनीहरुको सेयरभाउ सस्तिएकाले आज खरिद चाप बढ्दा नेप्से बढेको हुन सक्छ।’ 

‘दसैँअघिको कारोबार दिनको इतिहास हेर्दा पनि बजार बढेको देखिन्छ, त्यहि इतिहास आज पनि दोहोरिएको हो’, उनले भने, ‘साथै, बैंकहरुको ब्याजदर थोरै भएपनि घट्ने विषय र आजमात्रै भएको निर्णय ब्रोकर कमिसन घट्ने कुराले गर्दा पनि लगानीकर्ताहरुमा उत्साह थपिएको हुन सक्छ ।’

भट्टराईले भने, ‘दसैँपछि बजार बढ्न सक्ने सम्भावना छ, बजारलाई बढाउने सर्पोटिभ कुराहरु आएको छ। अहिलेको सिजन खासै मार्केट बढ्ने सिजन होइन। अन्य क्षेत्रमा लगानी गर्नेहरुले यो सिजनमा सेयरबजारमा लगानी गरेका हुँदैनन्। दसैँपछि सेयरबजारमा लगानीको आकार बढ्छ। कम्पनीहरुको बोनस बाँड्ने र वार्षिक साधारणसभाको पनि सिजन भएकोले बजार बढ्ने प्रचुर सम्भावना छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा हरियाली छाएको छ।  यो दिन सवैभन्दा बढी निर्जीवन बीमा समूह २.८७ प्रतिशतले बढेको छ। त्यसैगरी विकास बैंक समूह सर्वाधिक २.७४ प्रतिशतले बढेको छ।

त्यसपछि हाइड्रो पावर समूह २.५३ प्रतिशतले बढेको छ। लघुवित्त समूह भने २.२६  प्रतिशटले बढेको छ । यस्तै लगानी समूह २.२३ प्रतिशतले बढेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु 

सानीमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी दोस्रोमा कुमारी बैंकको संस्थापक सेयर ३ करोड १३ लाख ९९ हजार बराबरको कारोबार भएको छ । यसैगरी आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन  आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्मा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन्।

यसैगरी, इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ९.९७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, मीड  सोलु हाइड्रोपावरको सेयरभाउ ९.३१  र ज्योति विकास बैंकको सेयरभाउ ९.१९ प्रतिशतले उकालो लागेको  छ। यस्तै गनपति लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ९.१३ प्रतिशतले उकालो लागेको  छ। 

यो दिन वीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा ४.६२ प्रतिशतले ओरालो लागेको छ ।त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २ का इकाई धनीको इकाई मूल्य ३.९५ र १० १० प्रतिशट प्रभु डिवेञ्चरको इकाई मूल्य ३.८८ प्रतिशतले ओरालो लागेको छ ।