काठमाण्डौ । लामो समयसम्म घटेको बजारको प्रभाव म्युचुुअल फण्डहरुको प्रदर्शनमा समेत देखिएको छ । एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुुअल फण्ड घाटामा गएका छन् । दुुई स्किममध्ये असोज मसान्तसम्म एक नाफामा थियो भने अर्को घाटामा थियो । तर, कात्तिक मसान्तसम्म घाटामा रहेको स्किमको घाटा अझ बढेको छ भने नाफामा रहेको स्किम समेत घाटामा गएको देखिएको छ । 

एनआइबिएल प्रगति फण्डको प्रति इकाई खूद मूल्य घटेको छ । असोज मसान्तसम्म यस्तो मूल्य ९ रुपैयाँ ९१ पैसा रहेकोमा कात्तिक मसान्तसम्म घटेर ९ रुपैयाँ ३७ पैसामा सीमित बन्न पुुगेको हो । 

यो अवधिमासम्म यो स्किमले सूचिकृत सेयरमा ६० करोड ७३ लाख ७६ हजार ४ सय ८८ रुपैयाँ लगानी गरेको छ भने सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ९२ लाख १९ हजार ४ सय ३७ रुपैयाँ लगानी गरेको छ । 

कात्तिक मसान्तसम्म यो स्किम ५ करोड ९ लाख बढी घाटामा छ । असोज मसान्तसम्म यस्तो घाटा १ करोड ३ लाखमा सीमित थियो । स्किमले ५८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । 

सबैभन्दा धेरै कित्ता नेपाल बैंक लिमीटेडको ४५ हजार ५ सय ३९ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै एशिया लाइफ इन्स्योरेन्समा ३ करोड ६० लाख बढी लगानी गरेको छ । 

यस्तै, एनआइबिएल समृद्धि फण्ड १ को प्रति इकाई खूद मूल्य पनि घटेको छ । असोज मसान्तसम्म १३ रुपैयाँ ३१ पैसा रहेको यस्तो मूल्य घटेर १२ रुपैयाँ ८२ पैसामा सीमित बन्न पुुगेको हो। 

यो स्किमले कात्तिक मसान्तसम्म सूचिकृत सेयरमा ९५ करोड ९८ लाख ५ हजार १ सय ४१ रुपैयाँ लगानी गरेको छ । ऋणपत्र र बण्डमा ३ करोड ३० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ५ करोड २५ लाख लगानी गरेको स्किमले बैंक मुद्धती निक्षेपमा १० करोड राखेको छ । 

समीक्षा अवधिसमा यो स्किम पनि घाटामा गएको छ । असोज मसान्तसम्म १ करोड ७० लाख नाफामा रहेको स्किम कात्तिक मसान्तसम्म ३ करोड २४ लाख घाटामा गएको छ । 

यो स्किमले ८० कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै कित्ता बैंक अफ काठमाण्डूूको ५५ हजार १ सय ५९ खरीद गरेको छ । यस्तै, रकमको हिसाबले ठूलो लगानी एशियन लाइफ इन्स्योरेन्समा ३ करोड ९६ लाख बढी गरेको छ ।