– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार पाँचै दिन बढेको छ। 

अघिल्लो साता १९३९.६१ मा बन्द भएको बजार यो साता बढेर २०४२.०७ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १०२.४६ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजारमा ७३ अंकको बढोत्तरी भएको थियो। 

यो साता बजारमा १८ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १० अर्ब २८ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। 

अघिल्लो साताको तुलनामा यो साता कारोबार र सूचक दुवै बढेको छ। यो साता बजार पुँजीकरण २९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

बजारलाई इलिअट वेभको सानो टाइम फेरेमबाट हेर्दा र पछिल्लोपटकको न्यून विन्दु करिब १८०८ लाई आधार मान्दा वेभ–१ मा १९७५ सम्म र वेभ–२ मा फिवोनासीको ०.६१ सम्म करेक्नस भएर करिब १८५० सम्म आएको देखिन्छ। यो साता २०४२ मा बन्द भएको बजार सानो टाइम फेरेमको वेभ–३ सकिएको हुन सक्ने देखिन्छ । जसलाई यो साताको अन्तिम कारोबारमा बनेको क्यान्डल सुटिङ स्टार र ड्रागन फ्लाई डोजी स्टारले पुष्टि गर्न खोजेको देखिन्छ।  

यदि आगामी साता पनि बजार बढेमा त्यो एक्सटेन्डेड  वेभ–३ हुन जान्छ। तर, घट्यो भने अबको करेक्सन वेभ–४ हुन जान्छ। यो भनेको फिवोनासीको ०.३८ प्रतिशत अर्थात बजार अधिकतमा  १९८० सम्म आउन सक्छ वा बजार २००० भन्दा माथि–माथि बाटै फर्किन सक्ने सम्भावना पनि हुन्छ। आगामी कारोबारमा हप्ता–दस दिनको करेक्सन आएपछि पुनः बजार माथि जान्छ भने त्यो सानो टाइम फेरम अर्थात मिनेट डिग्रीको वेभ–५ हुनेछ। यो भनेको करिब बजार २२०० सम्म हुन जान्छ। बजारमा यो सम्भावना अत्याधिक देखिन्छ। किनकि अहिलेसम्म चलेको वेभ १, २ र ३ ले पनि यो पुष्टि गरिसकेको छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईमार्फत हेर्दा यो साता बजार बोलिंगर ब्यान्डको मध्य ब्यान्ड ब्रेक गरेर माथि गएको छ। यसले बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ। भोलुम पनि यो साता अघिल्लो साताभन्दा यो साता बढेको छ। 

म्याक्डीमार्फत हेर्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा रहेका छन्। 

साप्ताहिक चार्टमै आरएसआईमार्फत हेर्दा हाल ५६ को तहमा रहेको छ। यसले बजार बढ्न नै बाँकी रहेको मान्न सकिन्छ। तर, बजारलाई डेली र आवरी टाइम फेरेममा हेर्दा अल्पकालमा आगामी साताका कुनै पनि कारोबारमा करेक्सन आउनसक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध ३– २११९
प्रतिरोध २– २०४८
प्रतिरोध १– १९४९

पिभट प्वइन्टः १८७८

घटेमा सपोर्ट 

सपोर्ट १– १८०९
सपोर्ट २– १७५३
सपोर्ट ३– १६६९

निष्कर्ष

यो साता सेयर बजारमा १०२ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि दोस्रो बजारमा ७३ अंकले बढोत्तरी भएको थियो। कारोबार पनि लामो समयपछि १८ अर्ब रुपैयाँको भएको छ। 

प्राविधिक रुपमा साप्ताहिक चार्टमा मूल्यरेखाले बोलिंगर ब्यान्डको मध्यरेखा ब्रेक गरेर माथि गएको छ। यसले बजार दीर्घकालमा अप ट्रेन्ड नै देखिन्छ। यो साता २०४२ मा बन्द भएको बजार यदि आगामी साता बुधबारको कारोबारको उच्च विन्दु २०६५ भन्दा माथि टिकेको खण्डमा अप ट्रेन्ड र २०१५ भन्दा तल झरेमा बजार केही समय साइडवेज चल्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।