काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने बताएको छ । 

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै राष्ट्रबैंकले यस्तो बताएको हो । 

आर्थिक स्थायित्वका लागि अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्रमा देखिएको विद्यमान दवाब कम गर्न राष्ट्रबैंकले ब्याजदर बढाउनसक्ने उसको यो प्रष्ट संकेत हो । पछिल्लो समय निरन्तर बढेर निकै माथि पुगेको ब्याजदर पुनः बढ्ने सम्भावना केन्द्रीय बैंकको यो विश्लेषणले देखाएको छ । 

तेश्रो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने समीक्षामा उल्लेख छ । 

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि राष्ट्रबैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइने पनि बताएको छ । 

राष्ट्रबैंकले आन्तरिक आर्थिक तथा वित्तीय परिदृश्यमाथि विश्लेषण गर्दै केन्द्रीय बैंकले कोभिडको समयमा अवलम्वन गरिएको लचिलो नीतिगत कार्यदिशा र कोभिड संक्रमणमा आएको कमीले आर्थिक पुनरुत्थानको गति बढ्नुको साथसाथै आन्तरिक मागसमेत विस्तार भएको बताएको छ ।

‘आन्तरिक उत्पादन र मागबीच बढ्दै गएको अन्तरको प्रभाव व्यापार घाटा, चालु खाता तथा शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति जस्ता बाह्य क्षेत्रका परिसूचकहरुमा परेको छ ।’ समीक्षामा भनिएको छ–‘बाह्य क्षेत्रमा परेको दबाब कम गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाका फलस्वरुप विदेशी विनिमय सञ्चितिको घट्ने दर केही कम भएको छ । तथापि, आन्तरिक माग तथा आपूर्तिको अवस्था, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण आयात मूल्यमा भएको वृद्धिसमेतलाई दृष्टिगत गर्दा बाह्य क्षेत्र स्थायित्वमा विद्यमान जोखिम केही समय कायमै रहने देखिन्छ ।’ 

विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको उसको विश्लेषण छ । साथै, कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा वृद्धि भइरहेको र यहीकारण आन्तरिक मूल्यमा विद्यमान चापको स्थिति केही समयसम्म कायमै रहनेदेखिने केन्द्रीय बैंकको विश्लेषण छ । 

आर्थिक पुनरुत्थानले गति लिएसँगै आन्तरिक मागमा आएको विस्तारका कारण वित्तीय स्रोत अन्तर(रिसोर्स ग्याप) बढ्न गएको उल्लेख गर्दै राष्ट्रबैंकले भनेको छ–‘बढ्दो स्रोत अन्तर र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ्ग प्रणालीबाट तरलता प्रशोचन भई एकातिर ब्याजदरमा दबाब पर्न गएको छ भने अर्कोतिर बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो राख्नुपर्ने अवस्था छ ।’