काठमाण्डौ । नेपालको बैंकिङ उद्योगले नै लामो समयसम्म प्रतिक्षा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको प्रारम्भिक सम्झौता बढीमा अबको १० दिनभित्र गर्ने तयारी थालिएको छ ।
हिमालयन बैंकस्थित उच्च स्रोतकाअनुसार सेयर स्वाप रेसियो, कर्मचारी समायोजन लगायतका जटिल विषयहरुमा मोटामोटी सहमति भइसकेको छ । विदेशी साझेदारको रुपमा रहेका लगानीकर्ताहरुको लगानी तथा त्यसको व्यवस्थापन लगायतका केही पेचिला विषयमा सहमति हुन बाँकी नै छ । तर, सबै पक्ष हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरको पक्षमा देखिएकाले मर्जरका लागि एमओयूको ड्राफ्ट तयार गरिएको छ ।
'हिमालयन बैंकले नै एमओयूको ड्राफ्ट तयार गर्ने काम गरेको छ ।' स्रोतले भन्यो-'शुक्रबारसम्म ड्राफ्ट सम्पूर्ण रुपले तयार भइसक्नेछ र ढिलोमा पनि अबको १० दिनभित्र हामी एमओयूमा हस्ताक्षर गर्नेछौं ।'
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने तयारीका क्रममा बीचको केही समय डिस्टर्ब भएको बताएको थियो । इन्भेष्टमेन्ट बैंक मर्जरका लागि छिटो सहमति गर्ने पक्षमा रहेको, तर आफूहरु केही पर्खिने अवस्थामा रहेको भन्दै हिमालयनले मर्जरको प्रयासमा खटपट आएको संकेत गरेको थियो । तर, दुवै बैंकका ठूला लगानीकर्ता एकाघरका सदस्य रहेकोले खटपटको अवस्था पारिवारिक छलफलबाट समाधान गरिएको थियो । योसँगै डिडिए रिपोर्ट समेत आएपछि दुवै बैंक १ बराबर १ को सेयर स्वाप रेसियोमा एकअर्कासँग मिल्न तयार भएका हुन् ।
डिडिए सकिएसँगै इन्भेष्टमेन्ट बैंकले तत्काल एमओयू गर्नका लागि जोड गरिरहेको समेत हिमालयन बैंकका एक संचालकले बताए । 'तर हामीले एमओयूको ड्राफ्ट तयार गरिसकेपछि पनि सबै संचालकहरुको सहमति लिनुपर्छ ।' उनले भने-'पाकिस्तानको हबिब बैंकबाट प्रतिनिधित्व गर्ने संचालक यहाँ हुनुहुन्न, त्यसकारण हाम्रोतर्फबाट केही ढिलो हुनसक्छ । तर, जति नै ढिलो भए पनि अबको १० दिनभित्रमा एमओयू गर्ने गरी हामी अगाडि बढेका छौं ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago