काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बढ्दो ब्याजदरप्रति चिन्ता प्रकट गरेका छन्।

अर्थ मन्त्रालयका शुक्रबार आयोजित मन्त्रालयमातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा बैठकमा अर्थमन्त्री शर्माले ब्याजदर बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन्। ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ। अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन्’, उनले भने। 

बढ्दो ब्याजदर नियन्त्रण गर्ने विषयमा राष्ट्र बैंकले ध्यान दिन शर्माले निर्देशन दिए। ‘यसलाई समाधान गर्ने कि हामीले यस्तो चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुपर्छ’, उनले भने। 

आयातमा भएको वृद्धि आफूहरुले लिएको नीतिअनुसार विस्तारै सुधार भइरहेको शर्माले बताए। ‘यसमा राष्ट्र बैंक अझै उद्धार भयो भने यो समस्यामा सुधार हुन्छ’, उनले भने, ‘अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु।’

कार्यक्रममा राष्ट्र बैंकका अन्य अधिकारीसहित गर्भनर महाप्रसाद अधिकारीको पनि उपस्थिति थियो।