काठमाण्डौ । गत वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सुनसरीको दुहबीस्थित आफ्नो केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँबराबर लाभांश कुल ४५ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा अन्य कुनै इजाजतपत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कार्यको पूर्ण अख्तियार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा अर्को मुख्य अजेन्डाका रुपमा राखिने संस्थाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि यही पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय संस्थाले गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।