काठमाण्डौ । बम्पर लाभांश पारित गर्न नबिल बैंक लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको साधारणसभा पुस २२ गते मंगलबार काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३४ प्रतिशत लाभांश पारित अनुमोदन हुनेछ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि पूँजी बढेर १० अर्ब ९ करोड माथि पुग्नेछ ।

गत वर्ष पनि नवील बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो । निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा राम्रो मुनाफा आर्जन गर्न सफल बैंकका लगानीकर्ता पोहोरकै लाभांश यथावत रहेपछि खुशी हुने देखिएको छ ।

यसैगरी बैठकले नगद लाभांश तथा बोनस सेयर प्रयोजनका लागि पुस ८ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज गर्ने भएको छ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन पुस ७ गतेसम्म बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ ।