काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, वडा नं. ४, वर्दघाटमा आफ्नो शाखाको माघ २३ गते मंगलबारका दिन औपचारिक शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरेका हुन् ।

सो अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराए । 

सोही कार्यक्रममा वर्दघाट नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

एनसीसी बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै सबै आर्थिक क्रियाकलापलाई बैकिङ्ग सञ्जाल मार्फत जोडिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।