-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का नबनियुक्त अध्यक्ष शोभाकान्त पौडेलले मंगलबार बेलुकासम्ममा कार्यभार सम्हाल्दै छन् ।

यसअघि नेपाल धितोपत्र बोर्डमा सञ्चालक सदस्य तथा कार्यबाहक अध्यक्षसमेत रहिसकेका पौडेल पूँजीबजारको विषयमा जानकार भएकै व्यक्तित्व हुन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अहिले नेप्सेमा मुख्य गरि दुई वटा काम महत्वपूर्ण छन् । पहिलोमा लामो समयदेखि  अर्थ मन्त्रालयमा अड्किएको नेप्से पुनरसंरचनाको विषय छ ।

दोस्रोमा नेप्से ३० पनि लामो समयदेखि अड्किएर बसेको  छ । यी कार्यभार पूरा गर्नु नै नवनियुक्त अध्यक्ष पौडेलको मुख्य काम र चुनौति हुन् । त्यसैगरि, अरु सहायक चुनौति भनेको नेप्से भित्रैकै कर्मचारीलाई मिलाएर धितोपत्र बोर्डसँगको सहकार्यमा थुप्रै काम गर्नु छ । जुन नदेखिएका चुनौतिहरु हुन् । 

यतिखेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल नयाँ स्टक एक्सचेञ्ज ल्याउन कम्मर कसेर लागेका छन् भने नेप्सेका कर्मचारीहरु यहि नेप्सेलाई पुनरसंरचना गर्नुपर्ने पर्ने भन्दै विरोधमा छन् ।

उनीहरुले यहि माग राखेर नेप्सेको गेटमा कालो ब्यानरमा टाँगेको पनि महिनौं हुन लागेको छ । बजार सञ्चालक नेप्से र पूँजीबजार नियामक यी दुई वटा नियमनकारी निकायलाई समन्वय गरि काम गर्नु पौडेलका मूख्य चुनौति हुन सक्छन् । 

नेप्से पुनरसंरचनाको फाइल लामो समयदेखि अर्थ मन्त्रालयको घर्रामा थन्किएको छ ।  अर्कोतर्फ लामो समयदेखि वियरिस यात्रामा चलेको बजारलाई चलायमान बनाउनु पनि उनको  अरु सहायक चुनौतिहरु हुन सक्छन् । लगानीकर्ताहरुको बजार सञ्चालक नेप्सेसँग धेरै आशा र अपेक्षा राखेका छन् ।

नवनियुक्त अध्यक्ष पौडेलले विजशालासँग संक्षिप्त कुरा गर्दै भने, ‘वित्तीय क्षेत्र सबल र सक्षम,  चलायमान बजार र बलियो नेप्से बनाउनु मेरो जिम्मेबारी हुने छ ।’ उनले आजै नेप्सेमा गएर पदभार ग्रहण गर्ने पनि बताए ।