काठमाण्डौ । लगानीकर्ताको नजरमा विश्वास गुमाउँदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले लामो समयसम्मको अटेरीपन र गलफत्तीपछि बल्लतल्ल ०७४ असार मसान्तभित्र चुक्तापूँजी ८ अर्ब पुर्याउने स्पष्ट प्रस्ताव पेश गरेको छ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म ‘क’ वर्गको बित्तीय संस्थाको रुपमा रहने वाणिज्य बैंकले चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने समयसीमा तोकेको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पूँजीवृद्धिको स्पष्ट व्यवस्था ल्याएपछि यो व्यवस्थालाई फिर्ता गराउनेसम्मको लविङमा लागेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले धेरै प्रयासका बाबजुद आफ्नो जोर नचल्ने देखेपछि ढिलै भए पनि स्पष्ट पूँजीवृद्धिको योजना पेश गरेको हो । 

यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरिएको पूँजीवृद्धिको अवस्था अनुसार नेपालमा विजिनेश बिस्तारको संभावना नभएको दाबी गर्दै यो नीति फिर्ता नभए नेपालबाट लगानी झिक्नेसम्मको धम्की दिंदै आएको थियो । नेपाल राष्ट्रबैंकलाई दवाबमा राखी पूँजीवृद्धिको योजना फिर्ता गराउन यो बैंकको उच्च व्यवस्थापनले वल्र्ड बैंक लगायत अन्तराष्ट्रिय स्तरको आफ्नो पहुँचको समेत दुरुपयोग गरेको थियो ।

स्रोतका अनुसार धेरै प्रयासपछि पनि पूँजीवृद्धिको योजनाबाट नेपालको केन्द्रीय बैंक पछाडि नहट्ने देखेपछि स्ट्याण्डर्ड चार्टर्डले ०७४ असार मसान्तभित्र ८ अर्ब चुक्तापूँजी पुर्याउने गरी क्यापिटल प्लान तयार गरेको छ । 

यो बैंकको हाल चुक्तापूँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बैंकले हालै आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३३.३३ प्रतिशत अर्थात करिब ९४ करोड रुपैयाँ सेयर लाभांश वितरणको घोषणा गरेको छ । यसरी बोनस वितरणपछि बैंकको चुक्तापूँजी चालु आर्थिक वर्षमै ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । 

बैंकले चालु आर्थिक वर्षमै प्रिमियम मूल्यमा सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने स्पष्ट पारिसकेको छ । यसअघि कति कित्ता एफपीओ गर्ने भन्ने स्पष्ट नभए पनि उसले पछिल्लो समय भने ३.३० करोड कित्ता एफपीओ गर्ने बताएको छ । सर्वसाधारणका लागि एफपीओ जारी गरेपछि बैंकको चुक्तापूँजी ७ अर्ब माथि पुग्ने बताइएको छ । 

आर्थिक वर्ष ०७४/७५ मा बैंकले पुनः आफ्ना सेयरधनीलाई १४.१८ प्रतिशत(करिब १० लाख युनिट सेयर) बोनसको रुपमा वितरण गर्नेछ । यो बोनस समेत जोड्दा २०७४ असार मसान्तसम्ममा बैंकको चुक्तापूँजी ८ अर्ब पुग्ने देखिएको छ । 

हाल यो बैंकमा प्रोमोटर र पब्लिकको सेयर स्वामित्व अनुपात ७५ः२५ प्रतिशत रहेको छ । हालको सेयर संरचनालाई ३९.८९ : ६०.११ मा रुपान्तरण  गर्न एफपीओ जारी गरिने बैंकका एक अधिकारीले प्रष्ट्याएका छन् । हाल यो बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेज, सिड्नी अस्ष्टेलियाको ५० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक, लण्डनको २५ प्रतिशत प्रोमोटर सेयर छ । एफपीओ जारीपछि बैंकमा पब्लिक सेयर होल्डरको बहुमत हुनेछ । 

हाल यो बैंकको सेयरमा लगानीकर्ता खासै आकर्षित छैनन् । गिर्दो बित्तीय अवस्थाका कारण समेत स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो स्ट्याण्डर्ड गुमाउँदै गएको छ । यही कारण ३३ प्रतिशत बढी बोनस सेयर घोषणा गरेको दिन समेत यसको सेयरमा लगानीकर्ताले खासै ध्यान दिएनन् । बैंकको बित्तीय स्वास्थ्य कमजोर बन्दै गएकै कारण पछिल्लो समय दिनहुँजसो यो बैंकको सेयर मूल्यमा गिरावट आइरहेको छ । यस्तो अवस्थामा लगानीकर्ताले नामकै पछि कुदेर मात्र यो बैंकको सेयरमा आँखा चिम्लिएर लगानी गरे पछुताउनुपर्ने अवस्था आउनसक्छ ।