काठमाण्डौ । विश्वको सर्वाधिक ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) चाङपेङ झाओलाई अमेरिकामै बस्न र अन्य देशमा जान निषेध गरिएको छ । 

अमेरिकाको सियाटलस्थित जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले सोमबार बाइनान्सका पूर्व सीईओ चांगपेङलाई कम्तिमा अस्थायी रूपमा अमेरिकामा रहन आदेश दिएका हुन्।
अमेरिकी सरकारले चांगपेङलाई  सजाय सुनाउनु अघि संयुक्त अरब इमिरेट्स फर्कनबाट रोक्न खोजिरहेको छ।उनी गत साता १७५ मिलियन डलर धरौटीमा रिहा भएका थिए । र उनको सजायबारे फेब्रुअरी २३ मा सुनुवाइ हुने तय भएको छ।

अभियोजकहरूले झाओलाई सजाय सुनाउनु अघि देश छोड्न प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।चांगपेङ संयुक्त अरब इमिरेट्समा बस्छन्, जसको संयुक्त राज्य अमेरिकासँग औपचारिक सुपुर्दगी सन्धि छैन ।  

अमेरिकाको एन्टी मनी लान्ड्रिङ कानून तोडेको आरोपमा दोषी पाइएपछि हालैको साता उनले पदबाट राजीनामा दिएका थिए। उक्त फैसलापछि क्रिप्टो एक्सचेन्जले ४.३ बिलियन डलर जरिवाना पनि तिरेको छ।कम्पनीले अब संघीय अधिकारीहरूलाई संदिग्ध गतिविधि रिपोर्ट गर्नुपर्छ।

न्याय विभाग,ट्रेजरी विभाग र कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनले वर्षौंदेखि उक्त कम्पनीमाथि अनुसन्धान गरिरहेको थियो। अब उनी आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापन सम्बन्धित पदमा बस्न पाउने छैनन् ।

न्यायविभागले कम्पनीको रकम विनिमयले अपराधी र आतंकवादीहरूलाई पैसा सार्न सजिलो बनाएको पनि दाबी गरेको छ ।

कम्पनीले आफ्ना क्षेत्रीय बजार प्रमुख रिचर्ड टेङलाई यसप्रकरण पछि नयाँ सीईओ नियुक्त गरिसकेको छ।यो क्रिप्टोकरेन्सी र अन्य डिजिटल सम्पत्तिहरू किन्ने र बेच्ने संसारको सबैभन्दा ठूलो प्लेटफर्मको रूपमा चिनिन्छ। -एजेन्सी