काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सञ्चालक समितिको आइतबार (असार ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित होटेल ले बगैंचाको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तबीचको मर्जर प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। 

सभाले बिपिडब्लु र सामुदायिक लघुवित्तबीचको मर्जर प्रयोजनका लागि दुवै संस्थाको चल–अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न संयुक्त मर्जर समितिबाट सम्पत्ति तथा मूल्यांकनकर्ता पीएलआरजी एसोसिएट्स चाटर्ड अकाउन्टेन्ट्सलाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धाण गरेकोमा सञ्चालक समितिको सिफारिसबमोजिम लेखापरीक्षक नियुक्ति र पारिश्रमिकसम्बन्धी निर्णयलाई अनुमोदन गर्नेछ। 

मर्जर प्रयोजनका लागि गर्ने अन्तिम सम्झौतापलगायतका अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

मर्जरका लागि नियमनकारी निकायबाट प्राप्त निर्देशनबमोजिम संशोधन परिमार्जनसमेतको सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ यो लघुवित्तले असार १२ गतेदेखि असार २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउनेछन्।