काठमाण्डौ । बैंक अफ काठमाण्डूले लिलामीमा राखेको संस्थापक सेयरको अधिकांश कित्ता कर्मचारी सञ्चय कोषले सकारेको छ । 

दोश्रो बजारमा प्रतिकित्ता २७० रुपैयाँ मूल्य रहेको संस्थापक सेयरलाई सञ्चयकोषले २५१ रुपैयाँको बोली लगाई अधिकांश कित्ता सकारेको हो । 

बिओकेले मंसिर २२ दिख २९ गतेसम्म ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य राखी लिललामीमा राखेको थियो। कोषले यसमध्ये ९९ प्रतिशत शेयर खरीद गरेको हो।

कर्मचारी संचयकोषले २५१ रुपैयाँका दरले ६१ लाख ५८ हजार कित्ता माग गरेकोमा उसलाई ६१ लाख ४९ हजार कित्ता सेयर दिइएको छ । बाँकी रहेको करिब ९ हजार कित्ता सेयर अन्य २६ जनाले पाएका छन् । २६ जनाले २५० रुपैयाँदेखि ३८० रुपैयाँसम्ममा सेयर खरीदका लागि बोलपत्र पेश गरेका थिए । दोश्रो बजारमा २७० प्रतिकित्ताको दरले कारोबार भइरहेको सेयरलाई ३८० रुपैयाँसम्म बोल लगाएको पाइएको छ । 

बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङका अनुसार बीओकेको संस्थापक सेयर लिलामीमार्फत खरीदका लागि ९१७ आवेदकले शिलबन्दी बोलपत्र पेश गरेकामा ८९० को भागमा भने कुनै कित्ता परेन । 

बैंकका अनुसार संस्थापक समूहको हिस्सेदारी ४५ प्रतिशतबाट ५१ प्रतिशत पुर्याउन सेयर लिलामीमा गरिएको हो । यसअघि बैंकले एफपीओ निश्कासनको अनुमति मागे पनि बोर्डले दिएन । एफपीओ  निश्कासन गर्न नपाएपछि त्यही मोडलमा बैंकले लिलामीको बाटो अँगालेको हो । 

कति थपिन्छ पूँजी ?
संस्थापक सेयर लिलाम गरी बैंक अफ काठमाण्डूले डेढ अर्ब बढी रकम जुटाउने सफलता पाएको छ । कुल जुटेको रकममध्ये ६१ करोड ५८ लाख रुपैयाँ चुक्तापूँजीमा थपिएको छ भने बाँकी करिब ९३ करोड रुपैयाँ जगेडाकोषमा जम्मा भएको छ । 

संस्थापक सेयर लिलामीपछि अब बैंकको चुक्तापूँजी बढेर ६ अर्ब २४ करोडको उचाईमा पुुगेको छ भने जगेडाकोष थप मजबुत भई ४ अर्ब ४६ करोड पुगेको छ । 

नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब हुनुपर्ने नीति लिए अनुसार यो बैंकले १ अर्ब ७६ करोडको हाराहारीमा बोनस बाँड्नुुपर्ने बाध्यता छ । सेयर लिलामीबाट उठेको ९३ करोड रुपैयाँ र गत वर्षको नाफालाई समेत जोडेर यो बैंकले सेयरधनीलाई १ अर्ब ७६ करोड(करिब २८ प्रतिशत) बोनस सेयर वितरणको घोषणा गर्नुपर्ने बाध्यता देखिन्छ । बैंक स्रोतका अनुसार अब अपुुग पुँजी जुटाउन बोनस सेयर बाहेक अन्य विकल्प छैन ।