काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा छ ।’ 

मुलुकमा बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै उनले जीवन होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास जनमानसमा दिलाउनु पर्ने बेला आएको बताए । 

बीमक र बीमितमा देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र नियमक निकाय नेपाल बीमा प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्ने पनि उनले बताए । उनले सर्वसाधारणको हित र व्यवसायिकतालाई प्राथमिकतामा राखेर काम गर्न पनि बीमक र नियामकको ध्यानाकर्षण गराए ।

‘बीमा कम्पनीहरुले  बीमाका लागि विज्ञापन गर्ने, स्रोत पनि जम्मा गर्ने तर भुक्तानी दिनुपर्ने बोलमा धेरै झमेला  गर्ने आमधारणा रहेको भन्दै उनले यस्तो अवस्थामा बीमा सर्भेयरको काम आउने बताए ।

उनले भने, ‘बीमक र बीमितको बीचमा बसेर सर्भेयरले राम्रोसँग काम गरिदियो भने प्रभावकारी हुन्छ, यसमा बीमा सर्भेयर महत्वपूर्ण भूमिका हुन्छन् ।’

उनले भने, ‘कसैको प्रभावमा नपरिकन जे यथार्थ हो, त्यो राखेर बीमा सर्भेयरले समस्या समाधान गर्नुपर्छ ।बीमालाई नयाँ उचाइमा पुरयाउन बीमा सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’