– मनिष सोती

काठमाण्डौ । बीमा अभिकर्तालाई बीमा कम्पनीहरुको मेरुदण्ड मानिन्छ। जीवन बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन्। जीवन बीमा कम्पनीलाई आममानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भूमिका बीमा अभिकर्ताको रहेको हुन्छ। 

नेपाली जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने र ठूलो कम्पनीको दर्जा पाएको नेपाल लाइफ इन्स्योरेन्सलाई नम्बर वानको ताज पहिर्याउन कम्पनीका अभिकर्ताहरुको ठूलो योगदान रहेको छ। बीमा क्षेत्रमा १५ वर्षदेखि आबद्ध रहेका सिनियर एजेन्सी म्यानेजर मेगबहादुर जीसी नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय वृद्धिमा आफ्नो ठूलो योगदान रहेको बताउँछन्।  

नेपाल लाइफ इन्स्योरेन्स काठमाण्डौ शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर जीसीले काठमाण्डौ कालिमाटीस्थित एजेन्सीको कार्यालय खोली हजारौँ बीमितलाई सेवासुविधा दिँदै आएका छन्। नेपाल लाइफको उक्त कार्यालय काठमाण्डौ उपत्यकामा पहिलो र एउटामात्रै भएको उनी बताउँछन्।

तीन वर्षअघि बीमितको सेवासुविधालाई मध्यनजर गर्दै स्थापना गरेको एजेन्सीको कार्यालयले हजारौँ सेवाग्राहीलाई थप सहजता भएको जीसी बताउँछन्। बीमा परामर्श तथा आफ्ना ग्राहकको सेवासुविधालाई मध्यनजर गरी उक्त कार्यालय स्थापना गरिएको जीसी बताउँछन्। 

आफ्ना बीमित तथा ग्राहकका लागि सुविधायुक्त बीमितमैत्री परामर्श तथा सेवासुविधा जानकारी गराउने कार्यालयको मुख्य लक्ष्य रहेको जीसी बताउँछन्। ‘जीवन बीमा गर्नुअघि बीमितलाई बीमाका बारेमा विस्तृत जानकारी गराई बीमितको आवश्यकता र चाहनाअनुरुप बीमालेख बिक्री गरिन्छ’, उनले भने, ‘कार्यालयमा नयाँ तथा पुराना अभिकर्तालाई तालिम तथा प्रशिक्षण गरी व्यावसायिक दक्षता प्रदान गरिने गरिएको छ।’ 

व्यावसायिक दक्ष प्रशिक्षणयुक्त अभिकर्ता प्रशिक्षण तालिम आजका लागि आवश्यकता रहेकोमा जीसीको जोड छ। अभिकर्ताको व्यावसायिक मूल्य र मान्यताअनुरुप प्रशिक्षण दिई बीमितका लागि बीमाप्रति जागरण ल्याई बीमालेख बिक्री गर्ने मूल उद्देश्यका साथ कार्यालय सञ्चालनमा रहेको जीसी बताउँछन्। 

नेपाल लाइफ इन्स्योरेन्समा डेढ दशकभन्दा बढी कार्य गरिसकेका जीसीले २ हजारभन्दा बढी ग्राहकसमक्ष बीमाको सेवासुविधा दिइसकेको बताउँछन्। कार्यालयमार्फत २५० भन्दा बढी नयाँ अभिकर्ता जन्माइसकेको जीसी दाबी गर्छन्। 

जीसीका अनुसार उक्त एजेन्सी कार्यालयमार्फत नेपाल लाइफका बीमितहरुले बीमासम्बन्धी विभिन्न समस्याहरु लिएर आउँदासमेत सल्लाह दिने गरिएको छ। डेढ दशकको बीमा यात्रामा आफूले बीमा गराएका बीमितहरुबाट कुनै खालको गुनासो नआएको उनी दाबी गर्छन्। ‘बीमा आर्थिक जोखिमको हस्तान्तरण हो, भविष्यमा के हुन्छ, कसैलाई थाहा हुँदैन। यसकारण बीमा सबैले अनिवार्य गर्नुपर्छ’, उनले भने, ‘अन्य राष्ट्रमा जस्तै नेपालमा समेत बीमा अनिवार्य गरिदिने हो भने बीमा क्षेत्र मौलाउने सम्भावना रहन्छ।’ 

१५ वर्षे दौरानमा आफूले बीमा गराएकोबाट हालसम्म मृत्यु दाबी नपरेको जीसीको भनाइ छ। ‘मैले गराएको बीमामा हालसम्म मृत्यु बीमा दाबी परेको छैन तर मानिसको मृत्यु निश्चित छैन, जुन कोहीबेला पनि हुन सक्छ, त्यसकारण समयमै जीवन बीमा गर्नु अपरिहार्य छ’, उनले भने। 

विशेषगरी न्यून आय भएकालाई समेत बीमामा समेट्ने जीसीको लक्ष्य छ। ‘धनी वा आर्थिकस्तर बलियो भएकाहरुले त बीमा गर्ने नै भए तर न्यून आयस्तर भएकाहरुले पनि आफ्नो आयस्रोतअनुसार थोरै बीमांक रकमको भए पनि बीमा गर्नुपर्छ’, उनले भने, ‘नियामक निकायहरुले पनि प्रत्येक घर–घरमा बीमाको पहुँच पुर्याउन आवश्यक छ।’ 

अभिकर्ताहरु बीमा कम्पनीको मेरुदण्डका रुपमा रहे पनि अभिकर्तालाई दक्ष बनाउने खालको तालिमहरु सञ्चालन नभएको जीसी गुनासो गर्छन्। ‘जो मान्छे अभिकर्ता पेसामा आबद्ध हुन चाहन्छ, उसलाई बीमा अभिकर्ताको ज्ञान तथा व्यावसायिक ज्ञान अनिवार्य हुनैपर्छ’, उनले भने, ‘नेपालमा हालसम्म पनि अभिकर्तालाई दक्ष तालिम तथा प्रशिक्षण दिने उपयुक्त व्यक्ति छैन। यसका बाबजुद अभिकर्ताहरुले बीमा त बेच्छन् तर रिटर्न कसरी दिने र बीमाको विस्तृत जानकारी दिन नसक्ने अवस्था छ।’

यसका साथै बीमा अभिकर्ताहरुले धेरै बीमालेख बिक्री गर्न बीमितको सेवासुविधालाई ध्यान नदिने गरेकोसमेत जीसीको भनाइ छ। बीमितको सेवामा ध्यान नदिँदा पोलिसी समर्पण गर्नेको संख्या बढ्दै गएको उनी बताउँछन्। यसका साथै थोरै रकमले धेरैको जोखिम बहन हुने बीमा गर्नुपर्नेमा उनको जोड छ। 

बीमितको जीवनकालमा बीमा अवधिमा कर्जा सापटीको समेत सुविधा रहेको हुँदा पछिल्लो समय बीमाप्रति मानिसहरुको आकर्षण बढ्दै गएको जीसी बताउँछन्। ‘बीमितले बीमा गराएपछि आफ्नो बीमालेख धितो राखेर कर्जा लिन पाउने सुविधा रहेको छ’, उनले भने, ‘बैंकहरुमा दिइने कर्जाको भन्दा सस्तो ब्याजदर बीमालेख धितो कर्जामा रहेको हुँदा बीमा गर्नु फाइदाजनक नै छ।’ 

हाल जीवन बीमा कम्पनीहरुमा बीमितले बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष पूरा भएपश्चात् बीमालेख समर्पण तथा बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था रहेको छ। बीमालेखबाहेक अन्य कुनै धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमालेख धितो राखेर कर्जा लिने प्रक्रिया झन्झटमुक्तसमेत मानिन्छ। हाल जीवन बीमा कम्पनीहरुले यस्तो कर्जामा १० प्रतिशतसम्म ब्याज लिने गरेका छन्।