-मनिष सोती

काठमाण्डौ । मानिसहरु आफ्नो जीवन सुनौलो बनोस् भन्ने चाहन्छन् । अर्थात् आफ्नो अनि परिवारिक जीवनबारे चिन्तन गर्ने हरेक व्यक्तिहरु गुणस्तरीय जीवनको अभिलाषा राख्छन् ।

मानवीय आवश्यकता परिपूर्ति गर्न सक्ने क्षमता भएमा त्यसलाई नै गुणस्तरीय जीवनको रुपमा परिभाषित गर्ने गरिन्छ । तर आर्थिक पाटो बलियोसँगै परिवार तथा इष्टमित्र र समाजप्रतिको सद्भाव पनि गुणस्तरीय जीवन जीउन आवश्यक पर्ने आयामहरु हुन् । 

अझ भन्नुपर्दा व्यक्तिमा हुने आत्मविश्वास, व्यक्तित्व विकास र मानिसलाई गर्ने व्यवहार पनि गुणस्तरीय जीवन जीउनका लागि चाहिने प्रमुख पक्षहरु हुन् । गुणस्तरीय जीवनभित्र पर्ने यी सबै पक्षहरु बीमा अभिकर्ता पेशाबाटै प्राप्त हुने हिमालयन लाइफ इन्स्योरेन्सका एजेन्सी काशिराम ढकाल दाबी गर्छन् । 

सन् २०१९ बाट बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा पाइला चालेका ढकालको जीवनशैली अहिले आरामदायी मात्र छैन, लोभलाग्दो पनि छ । बीमा क्षेत्रमा प्रवेश गरेको ५ वर्षमा उनको जीवनमा धेरै परिवर्तन आएको छ । आर्थिक विकाससँगै व्यक्तिसँग गरिने व्यवहार, आफ्नो व्यक्तित्व विकास र धारणामा समेत परिवर्तन आएको उनी बताउँछन् । 

साविक युनियन लाइफ इन्स्योरेन्सबाट पाँच वर्षअघि सेल्फकोर्डबाट व्यवसाय सुरु गरेका उनको जीवनयापन गर्ने तरिका नै फेरिएको छ । ‘सुरुमा यो पेशाप्रति मेरो धारणा गलत थियो, अभिकर्ता पेशाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र भन्ने गलत सोचाइ थियो’, उनले भने, ‘जब यो क्षेत्रमा प्रवेश गरें, त्यसपछि बीमाको महत्व बुझें अनि मलाई यो पेशाबाट अझै केही गरौं भन्ने ऊर्जा मिल्यो ।’ 
काशिरामले यतिबेला बीमा अभिकर्ता पेशाबाटै थुप्रै उपलब्धि पाइसकेका छन् । आफ्नो पेशालाई सम्मान गर्दै त्यसप्रति मेहनत र लगाव राख्ने हो भने बीमा अभिकर्ता पेशाले असीमित आम्दानीको बाटो खुलाउने उनको भनाइ छ । 
‘बीमा अभिकर्ता त्यस्तो पेशा हो, जसमा लगाव र लगनशीललताले नै मासिक रुपमै लाखौं आम्दानी गर्न सकिन्छ’ उनले भने, ‘अन्य क्षेत्रमा जस्तो फुलटाइम समय दिनु पनि पर्दैन, एकपटकको मेहनतले वर्षौैभरी आम्दानी हुने भनेकै अभिकर्ता पेशा हो ।’ 
उनको मासिक आम्दानी करिब १ लाख रुपैयाँसम्म छ। परिवारका सबै सदस्यको आवश्यकता आफ्नो कमाईबाटै परिपूर्ति हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो पेशाबाट मासिक तलब भन्दा पनि आफुले गरेको मेहनत अनुसारको फल पाउने क्षेत्र हो, कहिले १ लाख रुपैयाँभन्दा माथि आम्दानी हुन्छ भने कहिले यहि हाराहारीमा आम्दानी हुन्छ ।’

अभिकर्ता पेशाबाट पाएको उपलब्धि 
सन् २०१९ बाट बीमा क्षेत्रमा प्रवेश गरेका काशिरामले सोचेको भन्दा धेरै उपलब्धि पाएका छन् । सन् २०१९ मै उनी एमडीआरटी भइसकेका थिए । उनले सन् २०२२ मा एमडीआरटी क्वालिफाइड भएर सिंगापुरमा आयोजित कार्यक्रममा सहभागी हुने मौकासमेत पाएका थिए । 

 

पाँच वर्षमा नै उनी दुई पटक एमडीआरटी क्वालिफाइड भइसकेका छन्, जुन अभिकर्ताको लागि यो ठूलो उपलब्धि हो । साथै कम्पनीले उत्कृष्ट व्यवसाय भित्र्याउने अभिकर्तालाई विभिन्न विधामा सम्मान गर्ने क्रममा उनी तीनपटक ‘इमर्जिङ स्टार’ समेत बनिसकेका छन् । 
व्यक्तिगत व्यवहारमा आएको सकारात्मक परिवर्तन, आर्थिक उन्नती, व्यक्तित्व विकास, बोल्ने शैलीको विकास, ठूला व्यक्तिहरुसँगको सम्बन्धलाई समेत उनी ठूलो उपलब्धि मान्छन् ।
‘बीमा अभिकर्ता एक सामाजिक सेवा पनि हो, हामीले बीमितको घर घरमा गएर  उनीहरुलाई बुझाएर बीमा गराएका हुन्छौं’, उनी भन्छन् ‘कतिपयलाई बीमाको बारेमा जानकारी नै हुँदैन, उनीहरुलाई राम्रोसँग बीमाको ज्ञान दिएर जीवन सुरक्षा तथा आर्थिक बचत गरिदिएका हुन्छौं ।’
३०० अभिकर्ताको लिडर 
काशिरामले यतिबेला ३०० अभिकर्ताको नेतृत्व गरिरहेका छन् । पाँच वर्षको अवधिमा उनले धेरै युवाहरुलाई प्रोत्साहन गर्दै तालिम दिएर अभिकर्ता मात्र होइन स्वरोजगार पनि बनाएका छन् ।साथै उनले हालसम्म व्यक्तिगत कोडबाट २५० वटा बीमा लेख बिक्री गरिसकेका छन् । उनको सेल्फ कोडबाट मात्रै हालसम्म १ करोड ८२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको छ । आफुले बिक्री गरेको बीमामा ५–६ जना बीमितको मृत्यु भई निजको हकवालालाई चाँडै दाबी भुक्तानी समेत दिएको उनी बताउँछन् । 

टुरिजम क्षेत्रबाट बीमा अभिकर्तासम्मको यात्रा 
चितवनको कुमरोज–७ मा विसं २०३१ साल असारमा जन्मिएका काशिराम ढकाल बीमा अभिकर्ता पेशामा आबद्ध हुनुभन्दा अगाडि पर्यटन क्षेत्रमा थिए । धेरै अवधिसम्म पर्यटन क्षेत्रमा बिताउँदा पनि आफुले सोचेजस्तो आर्थिक अवस्था बलियो नभएको उनी सुनाउँछन् । 
‘पर्यटन क्षेत्रमा रहँदा आम्दानी भएपनि चित्तबुझ्दो थिएन, आम्दानी जति परिवारिक खर्चमै लगभग ठिक्क हुन्थ्यो’ उनले भने, ‘जब बीमा अभिकर्ता बने त्यसपछि मेरो जीवनशैली नै परिवर्तन भएको छ ।’ 

 

अभिकर्ता पेशाले ‘असम्भव केही छैन र सजिलो पनि केही छैन’ भन्ने पाठ सिकाएको उनी बताउँछन् । ‘सबैभन्दा पहिला आफ्नो पेशालाई सम्मान गर्न सिक्नुपर्छ, लगनशील कायम राख्दै निरन्तरता दिने हो भने यो क्षेत्रले असीमित उपलब्धि दिन्छ’, उनले भने, ‘आर्थिक संकट देखिएसँगै अहिले बजारमा बीमा बिक्री कठिन छ, तर असम्भव चाहिं  छैन ।’ 


‘पोलिसी सरेण्डरमा अभिकर्ता मुख्य जिम्मेवार’ 
उनका अनुसार पछिल्लो समय जीवन बीमालेख त्याग गर्ने क्रम बढ्नुमा अभिकर्ताहरु मुख्य जिम्मेवार छन् । अभिकर्ताहरुले कमिसनको लोभमा बीमितलाई चाहिनेभन्दा बढी प्रलोभन देखाउँदा बीमालेख त्याग हुने गरेको उनका भनाइ छ ।  ‘अभिकर्ताहरुले बीमा गराउँदा बीमितको क्षमताको मुल्यांकन नगरी बीमा गराउँदा पोलिसी त्याग हुन जान्छ’, उनी भन्छन् ‘बीमितहरुको आर्थिक पाटो हेरेर बीमा गराउनुपर्दछ, बीमालेख त्याग नै गर्न दिनुभन्दा बीमाशुल्क घटाएर सरेण्डको मात्रा घटाउन सकिन्छ ।’ 
उनका अनुसार नातागोता हेरेर आफन्तलाई बीमा गराउने चलन अझै पनि छ, यसले गर्दा बीमित पनि विभिन्न सुविधाबाट बञ्चित भएका छन् । त्यसैले बीमा बारे दक्षता हासिल गरेका वा बीमाको ज्ञान भएका अभिकर्ताहरुबाट बीमा गराउनु पर्दछ। 
उनको विचारमा नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा आफैंले सञ्चालन गर्नु स्वागतयोग्य कदम हो । ‘प्राधिकरण आफैंले परीक्षा सञ्चालन गर्दा बीमा अभिकर्ताहरु काँटछाँट हुन्छन्, योग्य अभिकर्ताहरु मात्रै बजारमा बीमा बेच्न सक्रिय हुन्छन् र यसले सिंगो बीमा क्षेत्रलाई नै स्वस्थ र प्रतिस्पर्धात्मक बनाउँछ’, उनले भने । 
‘स–सानो रकम जम्मा गरेर भएपनि जीवन बीमा गर्नैपर्छ’ 
स–सानो रकम जम्मा गरेर भएपनि सबैले जीवन बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् । ‘भविष्यमा के हुन्छ कसैलाई थाहा छैन, हामी दैनिक रुपमा खाजा खाएर वा अन्य मनोरञ्जनका कुरामा ५–७ सय यसैपनि खर्च गरिरहेका हुन्छौं, यस्तो रकम बचत गरी बीमा गर्दा भविष्यमा हुन सक्ने आर्थिक जोखिम बहन हुन्छ’, उनी भन्छन्, ‘बीमाले जीवनसँगै आर्थिक जोखिमको समेत जोखिम धारण गर्दछ, यसकारण जतिसकिन्छ, त्यतिको मात्र भएपनि बीमा चाहिं गरौं ।’