काठमाण्डौ । तपाइँ बीमा गर्ने सोचमा हुनुहुन्छ भने विभिन्न विषयमा ध्यान दिनुपर्ने हुन्छ। बिना जानकारी बीमा गर्दा पछि पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ। 

त्यसैले नेपाल बीमा प्राधिकरणले बीमा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरुबारे सर्वसाधारणलाई सूचित गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरुबारे जानकारी गराएको हो। 

प्राधिकरणका अनुसार बीमा गर्दा प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग खुलाई भर्नुपर्छ। बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त एवं सुविधाबारे जानकारी लिएरमात्र बीमा गर्न प्राधिकरणले सुझाव दिएको छ। 

यसैगरी बीमितले आफ्नो आवश्यकता पेसा, व्यवसाय एवं आम्दानीको स्रोतसमेतलाई मध्यनजर गरी बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ। ‘अन्यथा समयावधि पूरा नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन सक्छ’, प्राधिकरणले भनेको छ। 

बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाएका व्यक्तिको नाम, बीमालेख बमोजिम दाबी रकम पाउने र नपाउनेजस्ता विषयमा बीमालेख खरिद गर्नुअगाडि नै बुझ्नुपर्दछ।

बीमितले बीमा शुल्क बुझाएपछि यसको आधिकारिक भर्पाइ वा रसिद लिनुपर्दछ।

बीमासम्बन्धी प्रस्ताव फाराम बीमित स्वमले भर्नुपर्नेछ। बीमित निरक्षर वा प्रस्ताव फाराम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फाराम भर्नुपर्नेछ।

बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ। बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीकरण गर्नुपर्ने प्राधिकरणले सुझाव दिएको छ। 

बीमासम्बन्धी नीति–नियमबारे जानकारी राख्न र आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजात सुरक्षित राख्न पनि प्राधिकरणले आग्रह गरेको छ। 

प्रविधिको विकाससँग विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सोसम्बन्धी यथेष्ट जानकारी लिएरमात्र बीमा गर्नुपर्दछ।

बीमा गरिसकेपछि आफूले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाइएको व्यक्तिलाई जानकारी गराउन पनि प्राधिकरणले आग्रह गरेको छ।