काठमाण्डौ । बीमा समितिको निर्देशनपछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ। 

गत कात्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो। तर बीमा समितिले नगद लाभांशको सट्टामा बोनस सेयर र कर प्रयोजनका लागिमात्र नगद लाभांश वार्षिक साधारणसभाबाट पारित भएपश्चातमात्र वितरण गर्न भनी निर्देशन दिँदै कम्पनीलाई गत माघ ६ गते पत्राचार गरेको थियो।

बीमा समितिकै निर्देशनमा माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो। कम्पनीले लाभांशमा परिमार्जन गर्दै उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।