– अनन्त्य सुन्दर

काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

हिजो बसेको सञ्चालक समितिको बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएको जीवन बीमा कम्पनीको न्यूनतम चुक्त पुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएको नर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको हो। बैठकले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउनुपर्ने निर्णय पनि गरेको छ। त्यसका साथै समितिले बीमा कम्पनीहरुलाई ३० दिनभित्रमा तोकिएको पुँजीवृद्धिको योजना पेस गर्न निर्देशनसमेत दिएको छ।

बीमा कम्पनीहरुका सीईओ भने समितिको उक्त निर्णय स्वागतयोग्य भए पनि समयसीमा भने थप गर्दा नयाँ तथा पुँजी थोरै भएका कम्पनीहरुलाई समितिले भनेको चुक्तापुँजी पुर्याउन सहज हुने बताउँछन्।

अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री एकैपटक एक वर्षमै समितिले भनेको चुक्तापुँजी पुर्याउन नयाँ साथै केही पुराना कम्पनीलाई पनि सम्भव नभएको बताए। खत्री भन्छन्, ‘रिस्कलेस क्यापिटलको पनि ३–४ वर्ष समय दिएको छ। त्यसैले बीमा कम्पनीहरुलाई पनि समितिले ३–४ वर्षको थप समय दिएको भए उक्त चुक्तापुँजी पुर्याउन हकप्रद र बोनस सेयरबाटै सम्भव थियो।’

‘बीमा कम्पनीहरुले पुँजी बढाउन आवश्यक नै छ। तर समितिले यति हतार गर्न भने जरुरी थिएन। हामीले त म्यानेजमेन्ट हेर्ने हो। त्यसैले कम्पनीहरुको पुँजी कति, कसरी पुर्याउने भन्ने लगानीकर्ता संघहरुले हेर्ने विषय हो’, खत्रीले भने।

युनियन लाइफ इन्सुरेन्सका सीईओ मनोजकुमार लाल कर्णका अनुसार जीवन बीमा कम्पनीहरुको जोखिम बढ्दै गएकाले समितिको पुँजी बढाउने निर्णय राम्रो भएको बताए। कर्ण भन्छन्, ‘समितिले सोच–विचारका साथै अध्ययन गरेर उक्त निर्णय गरेको हो। त्यसैले समितिको निर्णयअनुरुप नै हकप्रद, बोनस सेयर, मर्जर आवश्यक विकल्प अपनाएर पालना गर्छौं।’

एक वर्षमा नै बीमा कम्पनीहरुले समितिले भनेको पुँजी पुर्याउन कतिको सम्भव छ ? भन्ने बिजशाला संवाददाताको प्रश्नमा कर्ण भन्छन्, ‘त्यही पुँजीमा बीमा कम्पनी खोल्छौँ भनेर लाइसेन्स लिनका लागि तयार भएर बसेका छन्। नयाँ त तयार छन् भने सञ्चालनमा भएका कम्पनीहरुलाई पनि उक्त पुँजी पुर्याउन सम्भव छ।’

शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दिपप्रकाश पाण्डेले बीमा कम्पनीहरुले चुक्तापुँजी बढाउन आवश्यक रहेको बताए। ‘बीमा कम्पनीहरुको जोखिम न्यूनीकरण, क्षेत्र विस्तार साथै स्वास्थ्य व्यवसायका लागि पनि पुँजी वृद्धि आवश्यक छ’, उनले भने, ‘हामीले पुँजी वृद्धि चाहिन्छ भनेर नै त्यही अनुसार काम गर्दै आएका छौँ। पुँजी वृद्धिले समग्र बीमा व्यवसायलाई नै राम्रो हुन्छ।’

‘समितिले एक महिनामा क्यापिटल प्लान मागेको छ। मेरो विचारमा नयाँ तथा साना कम्पनीहरुलाई मर्जर साथै हकप्रदको बाटो उचित देखिन्छ’, पाण्डे भन्छन्, ‘शिखर इन्स्योरेन्सको भने समितिले भनेको चुक्तापुँजी समितिले दिएको समय सीमामा नै पुग्छ।’

प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार भट्टराईले बीमा कम्पनीहरुले चुक्तापुँजी एक वर्षमा नै पुर्याउन कम्पनीको हालको वित्तीय अवस्थाले निर्धारण गर्ने बताए। भट्टराई भन्छन्, ‘समितिले बीमा कम्पनीहरुलाई एउटा लेभलको हकप्रदको स्वीकृति दिँदा प्राइम लाइफको समितिले तोकेको समयमा नै ५ अर्ब पुँजी पुर्याउन सक्छौँ। पुँजी वृद्धि आवश्यक भएकाले हामीले प्राइम लाइफमा त्यहीअनुरुप क्यापिटल प्लान बनाएर काम गर्दै आएका छौँ।’

समितिले एक वर्षको समय थप्दा प्राइम लाइफको बोनसबाट नै समितिले निर्धारण गरेको पुँजी पुग्ने भट्टराईले बताए।